बीरगन्ज,३० जेठ । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूका लागि एकदिने बजेट निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा स्थानीय तहको बजेट निर्माण, कार्यान्वयन तथा विकास योजनाको प्रभावकारी व्यवस्थापनबारे प्रशिक्षण दिइएको एमाले मधेश प्रदेश सचिव मनोज पौडेलले जानकारी दिए। उनका अनुसार हालसम्मका कामको समीक्षा गर्दै आगामी आर्थिक वर्षको बजेटलाई अझ प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो।
प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय स्थानीय विकास विभाग प्रमुख राजेन्द्र गौतम, विज्ञ गणेश तिमल्सिना र नवराज गेलालले सहजीकरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले जनप्रतिनिधिहरूलाई जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट निर्माण गर्न आग्रह गरे। उनले बजेटलाई प्रत्यक्ष रूपमा जनजीवनसँग जोडिने गरी तयार गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी एमाले मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले स्थानीय पार्टी कमिटीसँग समन्वय र सहकार्य गर्दै बजेट प्रक्रिया अघि बढाउन निर्देशन दिए। उनले विकास कार्यक्रमलाई परिणाममुखी बनाउन पार्टी र जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताए।
मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्य दिएका थिए भने सचिव मनोज पौडेलले सहजीकरण गरेका थिए।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू अच्युत मैनाली, प्रभु हजरा, मो. कैस, मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री सारदा थापा लगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो।




