काठमाडौं,१६ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधेश प्रदेशका विभिन्न जिल्लामा गरेको बजार अनुगमनका क्रममा बिक्री वितरण भइरहेका आँपमा प्रतिबन्धित रासायनिक पदार्थ क्याल्सियम कार्बाइड प्रयोग नभएको जनाएको छ।
उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विभागले सिरहाको लहान, सर्लाहीको नवलपुर र लालबन्दी तथा रौतहटको चन्द्रपुर र गौरस्थित थोक तथा खुद्रा फलफूल बजार र गोदामहरूमा विशेष अनुगमन गरेको थियो।
अनुगमनका क्रममा व्यवसायीहरूले आँप पकाउन प्रतिबन्धित रसायन प्रयोग नगरेको पाइएको विभागले जनाएको छ। साथै, फलफूलसँगै तरकारीको गुणस्तरसमेत परीक्षण गरिएको थियो।
विभागका अनुसार असार ३ गते सर्लाहीका स्थानीय बजारबाट संकलन गरिएका तरकारी र फलफूलका नमुनाको द्रुत विषादी अवशेष परीक्षण (आरबीपीआर) गर्दा सबै नमुना मापदण्डअनुसार सुरक्षित भेटिएका छन्। यसबाट बजारमा उपलब्ध मौसमी फलफूल र तरकारी उपभोगका लागि सुरक्षित रहेको पुष्टि भएको विभागको भनाइ छ।
अनुगमनसँगै विभागले व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न आवश्यक निर्देशनसमेत दिएको छ। आयातित फलफूल खरिद–बिक्री गर्दा अनिवार्य रूपमा लेबल वा स्टिकर भएका उत्पादन मात्र बिक्री गर्न तथा फलफूल पकाउन आवश्यक परे सरकारले स्वीकृत गरेका रिपेनिङ एजेन्ट मात्र प्रयोग गर्न आग्रह गरिएको छ।
यस्तै, स्वीकृत रिपेनिङ एजेन्ट प्रयोग गर्दा पनि रसायन फलफूलसँग प्रत्यक्ष सम्पर्कमा नआउने गरी सुरक्षित विधि अपनाउन र समग्र खाद्य स्वच्छताको मापदण्ड पालना गर्न विभागले व्यवसायीलाई सचेत गराएको छ।




