काठमाडाै,३१ जेठ । मेचीनगरमा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–४ की ६२ वर्षीया पद्मा पौडेल को आइतबार बिहान मृत्यु भएको हो।
प्रहरीका अनुसार पौडेल बिहान घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीको आक्रमणमा परेकी थिइन्। हात्तीले कुल्चिएपछि उनको घटनास्थलमै ज्यान गएको बताइएको छ।
घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। पछिल्लो समय मानव बस्ती नजिक जंगली हात्तीको आवतजावत बढ्दै जाँदा झापाका विभिन्न क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्वका घटना दोहोरिन थालेका छन्।
मृतकको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




