काठमाडाै,३१ जेठ । महेश बस्नेत ले पार्टीभित्र दृढ अडान लिनेहरूलाई गलत आरोप लगाएर कमजोर बनाउने र विरोधीसँग साटघाट गर्ने प्रवृत्तिले पार्टी निर्माण हुन नसक्ने बताएका छन्।
नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकपछि प्रतिक्रिया दिँदै बस्नेतले पार्टी, अध्यक्ष तथा नेता–कार्यकर्तामाथि भइरहेका ‘चौफेरि हमला’ को एकताबद्ध रूपमा प्रतिरोध गर्ने संकल्प गरिएको बताए।
उनका अनुसार पार्टीभित्र संगठनलाई कमजोर पार्ने प्रयास, भ्रम फैलाउने गतिविधि र बाह्य शक्तिसँगको अनुचित सहकार्यले संगठनलाई नोक्सान पुर्याउँछ। उनले यस्ता प्रवृत्तिको सामना गर्दै पार्टीलाई अझ मजबुत, एकताबद्ध र जनमुखी बनाउने दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
बस्नेतले बैठकमा अधिकांश नेताहरूले पार्टीको पक्षमा दृढ भएर उभिनुपर्ने धारणा राखेको बताए। केही नेताहरूले फरक दृष्टिकोण राखे पनि ती सुझावलाई समेत गम्भीर रूपमा लिइएको उनको भनाइ थियो।
उनका अनुसार बैठकले पार्टीलाई सामाजिक न्याय, जनहित र “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्यतर्फ अझ सशक्त रूपमा अघि बढाउने संकल्प गरेको छ।
पार्टी नेतृत्व र संगठनमाथि देखिएका चुनौतीलाई सामना गर्दै एकता र समन्वयका साथ अघि बढ्ने निष्कर्षसहित बागमती प्रदेशको बैठक सम्पन्न भएको उनले जानकारी दिए।




