spot_img

भिस्वा डाँडामा विद्यार्थीद्वारा सरसफाइ तथा जनचेतनामूलक अभियान

spot_img
spot_img

बीरगन्ज,३१ जेठ । भिस्वा डाँडा परिसरमा विद्यार्थीहरूको सक्रिय सहभागितामा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बिकन स्कुल अन्तर्गत रहेको बिकन सोसल वेलफेयर युनिट को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

समाजसेवी तथा विद्यालयका सञ्चालक प्रकाश उपाध्याय को नेतृत्वमा सम्पन्न कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपाल का संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, सचिव अविनाश झा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव तथा समाजसेवी श्रवणबहादुर रायमाझी लगायत शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

अभियानअन्तर्गत विद्यार्थीहरूले भिस्वा डाँडा क्षेत्रमा थुप्रिएको फोहोर संकलन गरी वातावरण सफा बनाएका थिए। साथै स्थानीय बासिन्दालाई सरसफाइ, वातावरण संरक्षण र फोहोर व्यवस्थापनको महत्त्वबारे जानकारी दिँदै जनचेतनामूलक सन्देश प्रवाह गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सरदार जसपाल सिंहले फोहोर उत्पादन कम गर्नु नै सरसफाइको पहिलो उपाय भएको बताए। उनले वातावरण स्वच्छ राख्न प्रत्येक नागरिकले घरदेखि सार्वजनिक स्थलसम्म सफा राख्ने जिम्मेवारी वहन गर्नुपर्ने धारणा व्यक्त गरे।

त्यस्तै विद्यालयका सञ्चालक प्रकाश उपाध्यायले सरसफाइ स्वस्थ जीवनको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र वातावरणीय चेतना विकास गर्न विद्यालयले सोसल वेलफेयर युनिट गठन गरेको जानकारी दिए। उक्त युनिटमार्फत सरसफाइ, वृक्षारोपण र अन्य सामाजिक सेवामूलक गतिविधि सञ्चालन गरिँदै आएको उनले बताए।

समाजसेवी श्रवणबहादुर रायमाझीले सरसफाइलाई केवल व्यक्तिगत स्वच्छतासँग मात्र नभई समुदाय, विद्यालय, धार्मिक स्थल तथा प्राकृतिक स्रोतहरूको संरक्षणसँग पनि जोडेर हेर्नुपर्ने बताए। उनले वातावरण संरक्षणका लागि विद्यार्थीहरूलाई व्यवहारिक रूपमा सहभागी गराउनु आवश्यक रहेको धारणा राखे।

आयोजकका अनुसार विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षण, सरसफाइ संस्कृतिको विकास तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता वातावरणमैत्री तथा जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय