वीरगन्ज,३१ जेठ । पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकबाट प्रहरीले करिब १०० किलोग्राम गाँजा बरामद गरेको छ। खेतमा लुकाएर राखिएको अवस्थामा फेला परेको गाँजा सशस्त्र प्रहरी र नेपाल प्रहरी को संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेत का अनुसार विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा पाँच बोरामा राखिएको गाँजा आइतबार बरामद गरिएको हो।
बरामद गरिएको गाँजा हाल प्रहरीको नियन्त्रणमा सुरक्षित राखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाँजा कसले लुकाएर राखेको हो भन्ने विषय अझै खुल्न सकेको छैन। संलग्न व्यक्तिको पहिचान र खोजी कार्य तीव्र पारिएको डीएसपी बस्नेतले बताए।
प्रहरीले लागूऔषध ओसारपसार तथा तस्करीमा संलग्न जो–कोहीमाथि कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। साथै यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा पारिने जनाइएको छ।




