काठमाडौँ,३१ जेठ । सरकारले गैरआवासीय नेपालीलाई १० वर्षसम्म निःशुल्क भिसा दिने व्यवस्था ल्याउने तयारी गरेको छ। गृह मन्त्रालयले अध्यागमनसम्बन्धी कानुन संशोधन गर्दै यस्तो प्रावधान समावेश गर्न लागेको हो।
प्रस्तावित अध्यागमन विधेयकअनुसार नेपालमा बसोबास गर्न आउने गैरआवासीय नेपाली नागरिकता प्राप्त वा गैरआवासीय परिचयपत्र भएका नेपाली मूलका विदेशी नागरिक र उनीहरूको परिवारलाई १० वर्षसम्मको निःशुल्क भिसा दिने व्यवस्था हुनेछ।
विधेयकको मस्यौदामा १७ प्रकारका भिसा जारी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसअन्तर्गत गैरआवासीय नेपाली भिसा पनि समावेश गरिएको छ।
परिभाषाअनुसार यस भिसाको दायरामा पति–पत्नी, छोराछोरी, बाबुआमा, हजुरबा–हजुरआमा तथा सासू–ससुरा समेत परिवारका रूपमा समेटिनेछन्।
गृह मन्त्रालयले अध्यागमन व्यवस्थालाई व्यवस्थित र आधुनिक बनाउन कानुन संशोधन गर्न लागिएको जनाएको छ। साथै, विदेशीको नेपाल प्रवेश, बसोबास र प्रस्थानलाई नियमन गर्ने अधिकार सरकारमै रहने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
मस्यौदाअनुसार कुनै पनि विदेशी नेपाल प्रवेश वा बस्न चाहिँ सम्बन्धित मुलुकको राहदानी र नेपालको भिसा अनिवार्य हुनेछ। आवश्यक परे अध्यागमन अधिकृतले भिसा दिन वा प्रवेश अस्वीकार गर्न सक्ने अधिकार पनि रहनेछ।
सरकारले तयार पारेको विधेयक हाल सार्वजनिक राय–सुझावका लागि खुला गरिएको छ।




