काठमाडौं,३१ जेठ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेर नयाँ दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंले पछिल्लो डेढ वर्षमा आफू १४ पटकसम्म हिरासतमा पुगेको दाबी गरेका छन्।
काठमाडौंको जमलमा आयोजित नयाँ राष्ट्रवादी शक्ति निर्माणसम्बन्धी कार्यक्रममा बोल्दै उनले उक्त अवधिमा झन्डै एक वर्ष हिरासतमा बिताएको बताएका हुन्। “डेढ वर्षमा झन्डै एक वर्ष त म हिरासतमा बसेको रहेछु,” उनले भने।
प्रसाईंका अनुसार उक्त अवधिमा आफू ११ पटकसम्म बन्दी प्रत्यक्षीकरण (हाबियस कर्पस) मार्फत छुटिसकेको दाबी पनि गरे। उनले आफूले कुनै गैरकानुनी काम नगरेको र पक्राउ तथा हिरासतलाई राजनीतिक घटनाक्रमसँग जोडेर व्याख्या गरे।
कार्यक्रममा उनले तत्कालीन र वर्तमान राजनीतिक नेतृत्वप्रति टिप्पणी गर्दै विभिन्न समयमा आफू पटक–पटक पक्राउ परेको उल्लेख गरे।
यसैबीच उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विषयबारे पनि टिप्पणी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले केही नेतामाथि कारबाही गरेको विषय उठाए। साथै, उनले दिलविकास राजभण्डारी र धवल शम्शेर राणालाई पार्टीका लागि महत्वपूर्ण व्यक्तित्वका रूपमा उल्लेख गरे।




