काठमाडाै,३१ जेठ । धवल शमशेर राणा र दुर्गा प्रसाईं नेतृत्वको समूहले नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी तीव्र पारेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाट अलग भएको राणा समूह तथा प्रसाईं नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान” बीच सहकार्य गर्दै नयाँ पार्टी निर्माणको तयारी भइरहेको हो।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रारम्भिक तयारीबारे जानकारी दिइएको छ। नेताहरूका अनुसार आगामी असारको पहिलो साताभित्र नयाँ दल औपचारिक रूपमा घोषणा गर्ने योजना छ।
पूर्वमन्त्री समेत रहेका दिलनाथ गिरी का अनुसार नयाँ पार्टीको संगठनात्मक नेतृत्व धवल शमशेर राणाले सम्हाल्ने सहमति भएको छ भने दुर्गा प्रसाईंलाई ‘सर्वमान्य नेता’ का रूपमा अगाडि सार्ने प्रारम्भिक समझदारी बनेको छ।
राप्रपाबाट अलग भएको समूह र हिन्दु राष्ट्र तथा राजसंस्थाको एजेन्डा बोकेर आन्दोलनरत प्रसाईं समूह एकै ठाउँमा उभिएपछि यो नयाँ राजनीतिक अभ्यासलाई राष्ट्रिय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
दल घोषणासँगै यसको एजेन्डा, संरचना र औपचारिक नेतृत्वबारे थप विवरण आउने अपेक्षा गरिएको छ।




