spot_img

काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा सुरु गर्ने योजना

spot_img
spot_img

काठमाडौं,३१ जेठ । काठमाडौं महानगरपालिकाले साँघुरा सडक र बढ्दो ट्राफिक जामलाई ध्यानमा राख्दै ‘बाइक एम्बुलेन्स’ सेवा सुरु गर्ने योजना अघि सारेको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यो व्यवस्था समावेश गरिएको हो।

नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले महानगरभित्र स्वास्थ्य सेवालाई अझ आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने लक्ष्य रहेको बताइन्। यसका लागि शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता विस्तार गर्ने योजना पनि समावेश गरिएको छ।

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न आयुर्वेद, योग, व्यायाम, प्राणायाम, ध्यान र वैकल्पिक चिकित्सा सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। साथै मिर्गौला रोगीका लागि डायलाइसिस सेवाको विस्तार र सुधार गरिने उल्लेख छ।

मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवामा विशेष कार्यक्रम ल्याइनेछ भने सार्वजनिक स्थानमा स्तनपान कक्ष स्थापना र व्यवस्थापनलाई प्राथमिकता दिइनेछ। महानगरभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन गरी गुणस्तरीय सेवा सुनिश्चित गरिने पनि नीति कार्यक्रममा समावेश छ।

विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार दिने व्यवस्था कडाइका साथ लागू गरिनेछ। साथै, गुणस्तरीय विशिष्टीकृत स्वास्थ्य सेवाका लागि नयाँ महानगर अस्पताल निर्माण गर्ने घोषणा पनि गरिएको छ।

मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न परामर्श सेवा र कल सेन्टर सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ। त्यस्तै, ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविर र आवश्यक सेवा विस्तार गरिनेछ।

यी सबै कार्यक्रममार्फत नागरिकलाई सहज, पहुँचयोग्य र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने महानगरको लक्ष्य रहेको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय