जनकपुर,३१ जेठ । सिराहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका सयौँ मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएपछि नेपालको परीक्षा प्रणालीबारे नयाँ बहस सुरु भएको छ। विज्ञहरू र शिक्षाविद्हरूले यस घटनालाई केवल अनुशासन उल्लङ्घनको विषय नभई शिक्षा र मूल्याङ्कन प्रणालीको कमजोरीसँग जोडेर हेर्नुपर्ने बताएका छन्।
उनीहरूका अनुसार विद्यार्थीले परीक्षा हलमा मोबाइल लैजानु समस्याको मूल कारण होइन, बरु स्मरणशक्तिमा आधारित घोकन्ते परीक्षा प्रणालीले सिर्जना गरेको परिणाम हो। अहिलेको मूल्याङ्कन पद्धतिले विद्यार्थीलाई अवधारणा बुझ्न र प्रयोग गर्नभन्दा उत्तर कण्ठ गर्न बढी प्रेरित गर्ने गरेको उनीहरूको तर्क छ।
यही सन्दर्भमा खुला किताबी (ओपन बुक) परीक्षा प्रणालीलाई विकल्पका रूपमा अघि सारिएको छ। यस्तो प्रणालीमा विद्यार्थीले पाठ्यपुस्तक, नोट वा अन्य स्वीकृत सामग्री प्रयोग गर्न पाउने भए पनि प्रश्नहरू विश्लेषण, तर्क, समस्या समाधान र अवधारणाको प्रयोगमा आधारित हुने भएकाले केवल किताबबाट सारेर उत्तर दिन सम्भव हुँदैन।
शिक्षाविद्हरूका अनुसार ओपन बुक परीक्षाले विद्यार्थीमा आलोचनात्मक सोच, विश्लेषण क्षमता र व्यवहारिक ज्ञानको विकास गर्न सहयोग पुर्याउँछ। यसले परीक्षा सम्बन्धी अनावश्यक तनाव कम गर्नुका साथै सिकाइलाई वास्तविक जीवनसँग पनि जोड्ने काम गर्छ।
विश्वका धेरै विश्वविद्यालय र शैक्षिक संस्थाले लामो समयदेखि यस्तो प्रणाली अपनाइरहेका छन्। भारतले समेत राष्ट्रिय शिक्षा नीति–२०२० अन्तर्गत ओपन बुक परीक्षाको परीक्षणात्मक अभ्यास सुरु गरिसकेको छ।
यद्यपि नेपालमा यस्तो प्रणाली लागू गर्नुअघि शिक्षक प्रशिक्षण, प्रश्नपत्र निर्माण, मूल्याङ्कन मापदण्ड तथा स्रोत–साधनको समान पहुँच सुनिश्चित गर्नुपर्ने चुनौती रहेको विज्ञहरूको भनाइ छ।
सिराहामा मोबाइल नष्ट गरिएको घटनाले परीक्षा केन्द्रमा अनुशासन कायम गर्ने सन्देश दिएको भए पनि यसले शिक्षा प्रणालीको गहिरो समस्या उजागर गरेको टिप्पणी भइरहेको छ। धेरैले अब उपकरणमाथि मात्र कारबाही गर्ने होइन, घोकन्ते शिक्षा र पुरानो परीक्षा प्रणालीमाथि पुनर्विचार गर्नुपर्ने समय आएको बताएका छन्।




