विराटनगर,३१ जेठ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी व्यावहारिक रूपमा विभाजित भइसकेको भन्दै वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। आइतबार विराटनगरमा आयोजित संस्थापन–इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर बन्दै गएको उल्लेख गरे। पार्टीको नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी सञ्चालन र संगठन सुदृढीकरणका विषयमा प्रश्न उठाए।
कोइरालाले नेतृत्वले अरूलाई दोष दिनुभन्दा पहिले आफ्नै सोच र व्यवहार सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। पार्टीभित्रको गुटगत राजनीति र आन्तरिक विवादले संगठन कमजोर बनेको तथा कार्यकर्ताको उपस्थितिलाई मतमा रूपान्तरण गर्न नसकिएको उनको भनाइ थियो।
कोइराला निवास पुगेको प्रसंग स्मरण गर्दै उनले भावुक हुँदै कांग्रेस विभाजनको अवस्थाले आफूलाई दुःखी बनाएको बताए। पार्टीभित्र देखिएको दूरी र विभाजनलाई अन्त्य गर्दै सबै पक्षलाई एकताबद्ध गर्नुपर्नेमा उनले जोड दिए।
उनले कांग्रेसलाई पुनः एकजुट बनाउने अभियानमा डा. शेखर कोइरालाले नेतृत्व गरिरहेको उल्लेख गर्दै त्यस अभियानमा आफ्नो पूर्ण समर्थन रहने बताए। कांग्रेसलाई बलियो, संगठित र जनविश्वासयोग्य बनाउन पार्टी एकता अहिलेको प्रमुख आवश्यकता भएको उनको धारणा थियो।
शशांक कोइरालाको अभिव्यक्तिलाई कांग्रेसभित्र बढ्दो असन्तुष्टि, नेतृत्वको बहस र आगामी महाधिवेशनको तयारीसँग जोडेर हेरिएको छ। उनका भनाइले पार्टीभित्र संगठन, नेतृत्व र एकताको विषय पुनः चर्चाको केन्द्रमा पुगेको छ।




