बीरगन्ज,३१ जेठ । जितपुरसिमरा उपमहानगरपालिका–७ भगिरथ लाइनस्थित बीरगन्ज–पथलैया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा दुई जना किशोरी घाइते भएका छन्। जितपुरबाट सिमरातर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०३९ प २६८६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बारा ले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक जितपुरसिमरा–१७ रामनगर निवासी बासुदेव मोक्तानकी १६ वर्षीया छोरी सुप्रिया मोक्तान गम्भीर घाइते भएकी छन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको प्रहरी प्रवक्ता तथा डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
त्यस्तै, पछाडि सवार सोही स्थानकी १६ वर्षीया सुप्रिया रुम्बा पनि घाइते भएकी छन्। उनको अनुहार, बायाँ हात र दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुवै घाइतेको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त स्कुटर इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा राखिएको छ। घटनास्थलमा प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको नेतृत्वमा टोली पुगेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




