काठमाडौं,३१ जेठ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विगत १०–१५ वर्षदेखि मुलुक निहित स्वार्थ समूहहरूको प्रभाव र नियन्त्रणमा रहेको दाबी गर्दै त्यसलाई तोड्ने अभियान सरकारद्वारा अघि बढाइएको बताएका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न निकायसम्म स्वार्थ समूहको प्रभाव रहेको तथ्यहरू क्रमशः बाहिर आउँदै गएको बताए।
उनका अनुसार हाल देशको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालासम्बन्धी मुद्दा न्यायिक प्रक्रियामा रहेको छ, जसमा एक खर्बभन्दा बढी बिगो माग गरिएको छ।
मन्त्री वाग्लेले सरकार अहिले अर्थतन्त्रमा देखिएको बेथिति र विकृतिलाई ‘क्लिन अप द मेस’ अभियानमार्फत सुधार गर्ने प्रयासमा रहेको बताए। उनले युवा विदेशिनुपर्ने अवस्थालाई बदल्दै देशमै अवसर सिर्जना गर्ने लक्ष्य सरकारको रहेको उल्लेख गरे।
उनले भने, ‘विगत १०–१५ वर्ष देश निहित स्वार्थ समूहको कब्जामा थियो, राजनीतिक नेतृत्वदेखि राज्यका अंगहरू समेत प्रभावित थिए। अहिले हामी त्यसलाई तोड्दैछौँ।’
उनका अनुसार ठूलो वित्तीय अनियमिततासम्बन्धी मुद्दाले राजनीतिक तथा प्रशासनिक संरचना कसरी प्रभावित भएको थियो भन्ने कुरा उजागर गरिरहेको छ।
सरकारले सुशासन र आर्थिक समृद्धिका लागि पाँच वर्षे रोडम्यापसहित काम अघि बढाइरहेको पनि उनले बताए।




