काठमाडाैं,३१ जेठ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी वर्तमान अवस्थामा व्यावहारिक रूपमा फुटिसकेको टिप्पणी गर्दै तत्काल एकता आवश्यक रहेको बताएका छन्।
विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले पार्टीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनका अनुसार कांग्रेस कमजोर अवस्थामा पुगेको छ र नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।
कोइरालाले प्रश्न गर्दै भने, ‘के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ?’ भन्दै पार्टी सुधारका लागि नेतृत्वले पुरानो रुढिवादी सोच त्यागेर परिवर्तन गर्नुपर्नेमा जोड दिए।
कोइरालाले कोइराला निवासमा पुगेको क्षण सम्झिँदै भावुक प्रतिक्रिया पनि दिएका थिए। उनले भने, ‘आज कोइराला निवास जाँदा आँखाबाट आँसु आयो, कांग्रेस टुक्रिएको छ, यसलाई टुक्र्याइएको छ।’ उनले अदालतको निर्णयले पार्टी विभाजनको अवस्था ल्याएको टिप्पणी पनि गरे।
उनका अनुसार पार्टीभित्रको आन्तरिक विवादका कारण गाउँगाउँमा कार्यकर्ता भए पनि निर्वाचनमा मत परिणाम कमजोर देखिएको छ। उनले सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने समय आएको बताए।
पार्टीलाई पुनः एकताबद्ध बनाउने अभियानमा शेखर कोइराला सक्रिय रहेको उल्लेख गर्दै उनले आफ्नो पूर्ण समर्थन रहने संकेत पनि गरेका छन्। उनले कांग्रेसलाई बलियो बनाउन एकता नै आजको मुख्य आवश्यकता भएको दोहोर्याए।




