काठमाडौँ,३१ जेठ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सहकारी ठगीमा संलग्न व्यक्तिहरूको दायित्व जनताको करबाट वहन गर्न खोजिए वर्तमान शासन व्यवस्था नै संकटमा पर्ने चेतावनी दिएका छन्।
आइतबार काठमाडौँमा आयोजित ‘प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’मा बोल्दै उनले सहकारी पीडितलाई सरकारी बजेटबाट रकम फिर्ता गर्ने प्रयास भए त्यसले सरकारमाथि गम्भीर राजनीतिक दबाब सिर्जना गर्ने दाबी गरे।
प्रसाईंले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि आलोचनात्मक टिप्पणी गर्दै आफूले विगतमा एमालेविरुद्ध जस्तै राजनीतिक अभियान चलाउने चेतावनी दिए। सामाजिक सञ्जालमा आफूविरुद्ध गतिविधि भइरहेको आरोप लगाउँदै उनले देशमा छिट्टै नयाँ आन्दोलन सुरु हुने दाबी समेत गरे।
उनले सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी अस्पताललाई भुक्तानी दिन नसकेको, दुग्ध किसानको बक्यौता रकम बाँकी रहेको तथा किसानलाई आवश्यक मलखाद उपलब्ध गराउन नसकेको भन्दै सरकार जनताका आधारभूत समस्याप्रति गम्भीर नभएको आरोप लगाए।
प्रसाईंले नेपालमा राजसंस्था र सनातन हिन्दु राष्ट्र पुनर्स्थापना हुनुपर्ने आफ्नो अभियान रहेको दोहोर्याउँदै त्यसै उद्देश्यका लागि नेता धवल शमशेर राणासँग सहकार्य गरेर नयाँ राजनीतिक दल गठनको तयारी गरिएको बताए।
उनका अनुसार नयाँ दलको मुख्य लक्ष्य राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको पक्षमा जनमत निर्माण गर्नु हुनेछ। राजसंस्था पुनःस्थापना भएपछि मात्रै देशमा स्थायित्व, शान्ति र समृद्धि आउने उनको दाबी छ।




