काठमाडौं,०२ असार । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई उचित मूल्य सुनिश्चित गर्न चैते धानको न्यूनतम समर्थन मूल्य कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयले नेपाल चामल, तेल तथा दाल उद्योग संघ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरोकारवाला निकायलाई सरकारद्वारा निर्धारित मूल्यमा किसानबाट चैते धान खरिद गर्न आवश्यक सहजीकरण र अनुगमन गर्न आग्रह गरेको हो।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रिपरिषद्ले चैत २४ गते १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २ हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा तोकेको थियो।
मन्त्रालयले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन र तोकिएको समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सम्बन्धित पक्षको सहयोग आवश्यक रहेको जनाएको छ। साथै, व्यापारी तथा उद्योगीलाई सरकारले निर्धारण गरेको मूल्यभन्दा कममा धान खरिद नगर्न समेत सचेत गराएको छ।




