बारा,०२ असार । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोभालाल चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान आफ्नै एकतले पक्की घरको छतमा रहेका बेला उनी अचानक लडेर गम्भीर घाइते भएका थिए।
लड्ने क्रममा चौधरीको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि कोल्हवीस्थित तामागढी अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।
उपचारकै क्रममा मंगलबार बिहान करिब ५ बजे चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




