वीरगन्ज,०२ असार । मानव सेवाको पवित्र भावनासहित वीरगञ्जमा सञ्चालन हुँदै आएको सद्भाव साप्ताहिक भोजन सेवा आज बड मंगलबारको अवसरमा विशेष कार्यक्रमसहित सम्पन्न गरिएको छ।
वीरगन्ज–६ स्थित महावीर मन्दिर परिसरमा आयोजित कार्यक्रममा सयौं श्रद्धालु तथा सर्वसाधारणलाई निःशुल्क भोजन र चिसो शर्बत वितरण गरिएको हो।
कार्यक्रमका संयोजक रमेशजीका अनुसार मेनरोड–आदर्शनगर क्षेत्रमा प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको यो सेवा विगत ३८६ हप्तादेखि निरन्तर चलिरहेको छ। उनका अनुसार विशेष पर्व र अवसरहरूमा सेवा अझ व्यापक रूपमा सञ्चालन गरिँदै आएको छ।
आजको कार्यक्रममा करिब ४०० जनालाई भोजन गराइएको थियो भने करिब १ हजार जनालाई चिसो शर्बत वितरण गरिएको आयोजकले जनाएको छ। भोजनमा भात, दाल, पनिर, परवल, आलु, लौका, सोयाबिन मिसाइएको तरकारी तथा सलाद समावेश गरिएको थियो।
कार्यक्रममा स्थानीय समाजसेवी, स्वयंसेवक, महिला तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले सडक यात्रु, चालक तथा मन्दिर दर्शन गर्न आएका श्रद्धालुहरूलाई सम्मानपूर्वक आमन्त्रण गरी भोजन तथा शर्बत वितरण गरेका थिए।
स्थानीय बासिन्दाले लगातार ३८६ हप्तासम्मको निरन्तर सेवाले समाजमा सहयोग, सहकार्य र मानवताप्रति सकारात्मक सन्देश दिएको उल्लेख गरेका छन्।




