वीरगन्ज,०७ असार । वीरगन्जस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र (ब्लड बैंक) अब घण्टाघर नजिकको रेडक्रस सोसाइटी भवनबाट सञ्चालनमा आएको छ।
नारायणी अस्पताल छेउमा रहेको पुरानो ब्लड बैंक भवन मेनरोड विस्तारका क्रममा भत्काइने भएपछि सेवा स्थानान्तरण गरिएको हो। आइतबारदेखि सबै सेवा नयाँ स्थानबाट सुरु गरिएको रेडक्रस सोसाइटी पर्सा शाखाले जनाएको छ।
रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलका अनुसार अब रक्तसञ्चार केन्द्रका सम्पूर्ण सेवा घण्टाघर नजिक रहेको शाखा भवनबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
सेवा स्थानान्तरणसँगै रक्तदान तथा आपतकालीन रगत आपूर्तिमा कुनै समस्या नआउने गरी व्यवस्थापन गरिएको रेडक्रसले जनाएको छ।




