वीरगन्ज, ४ जेठ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार कुण्ठित हुनेगरी संसदमा ल्याएका कुनै पनि विधेयक पास पास हुन नदिने बताउनुभएको छ ।
शनिबार विराटनगर विमानस्थलमा सभापति देउवाले सरकारले बजेट एकपक्षीय ढंगले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे विरोध गर्ने तर रेलिङ नभत्काउने बताउनुभयो ।
बन्द हड्ताल तोडफोडको नीति कांग्रेसको नभएको बताउँदै सभापति देउवाले कांग्रेसले सदनमा गरेको प्रस्तुति प्रभावकारी रहेको दाबी गर्नुभयो । अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उहाँले सरकारले डेढ वर्षमा केही पनि उल्लेखनिय काम नगरेकोे टिप्पणी गर्नुभयो ।
पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर राम्रो सन्देश दिएको उहाँले बताउनुभयो ।