बाह्र वर्षपछि पक्राउ परे पत्रकार विरेन्द्र साहका हत्यारा, फरार दुई आरोपी पनि चाडैं पक्राउ पर्छन् : एसपी पँगेनी

spot_img

बीरगन्ज, २५ फागुन – बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पँगेनीले प्रतिबद्धता गरे अनुरुप पत्रकार विरेन्द्र साहका हत्यारालाई पक्राउ गरेका छन् ।

बारामा पदभार ग्रहण गरे लगत्तै पत्रकार भेटघाट कार्यक्रममा १ महिना भित्रै पत्रकार विरेन्द्र साहका हत्यारालाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रहरी उपरीक्षक पँगेनी सो पूरा गर्न सफल भएका छन् ।

साहको हत्या आरोपी मध्येका एक मुख्य आरोपी नरेन्द्र कुमार फौजदार “कुन्दन”लाई बारा प्रहरीले १२ वर्षपछि पक्राउ गरेको हो । फरार रहदैं आएका फौजदारलाई बारा प्रहरीको टोलीले आइतबार बिहान पक्राउ गरेको हो । होली मनाउन घर आएको भन्ने सुराकी पाएको बारा प्रहरीले फौजदारलाई बारागढी गाउँपालिका वडा नं. ६, गडहलस्थित उनकै घरबाट पक्राउ गरेको हो ।

तीन ठाउँमा लुकीछिपी बसेको हुन सक्ने शंकाको आधारमा तीन वटा प्रहरीको टोली फौजदारलाई पक्राउ गर्न खटिएको थियो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले ४ राउण्ड हवाई फायरिङ्ग समेत गरेको थियो ।
पक्राउ परेका फौजदारलाई बारा प्रहरीले आइतबार दिउँसो नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै बारामा प्रहरी उपरीक्षक पँगेनीले भन्नुभयो “बाह्र वर्षमा खोलो फर्कन्छ भन्छन्, बाह्रै वर्षपछि फौजदारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।” पन्तले बारामा पदभार ग्रहण गरे लगत्तै आफुले पत्रकार हत्याका आरोपीलाई पक्राउ गर्न टोली बनाएर खटाएको बताउनुभयो ।

यसअघि पनि हत्यारालाई पक्राउ पर्न प्रहरीले प्रयास गरेको भएपनि आईतबार मात्र सफलता पाएको प्रहरी उपरीक्षक पँगेनीले थप्नुभयो । पत्रकार साह हत्याका पक्राउ पर्न बाँकी थप दुई आरोपीलाई पनि पक्राउ गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । पत्रकार साहको हत्या आरोप लागेका हरेराम पटेल र लालबाबु चौधरी अहिले पनि फरार छन् । चौधरी माओवादीका तत्कालिन जिल्ला इज्चार्ज र हरेराम पटेल जिल्ला सेक्रेटरी रहेका थिए ।

पत्रकार साहलाई २०६४ साल असोज १८ गते तत्कालिन माओवादीका नेता फौजदार लगायतले अपहरण गरी निर्मम तरिकबाट हत्या गरेका थिए । उनी माथि अन्य थुपै्र मुद्दा पनि रहेको बारा प्रहरीको भनाई छ । बारा प्रहरीका अनुसार फौजदारमाथि लागुऔषध, हत्या, फिरौती लगायतका मुद्दा पनि रहेकाले सबै मुद्दामाथि अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक पँगेनीको भनाई छ ।

यसअघि बारा प्रहरीले साहको हत्या आरोपमा रामएकवाल सहनी र मैमनेजर गिरीलाई पक्राउ गरिसकेको छ । निज दुवै जना सहनी र गिरी, कारागारमा जन्मकैद सजाय भोगिरहेका छन् ।
दाईको हत्याका मूख्य आरोपी फौजदार पक्राउ परेपछि खुशी व्यक्त गर्दै पत्रकार भैयाराम साहले बारा प्रहरीलाई धन्यवाद दिएका छन् । बारा आउने हरेक प्रहरी उपरीक्षकले पदभार सम्हाले लगत्तै यस मुद्दामा सन्दर्भमा विभिन्न आश्वासन दिने गरेको भएपनि प्रहरी उपरीक्षक पँगेनीले भने प्रतिबद्धता पुरा गरेकोमा आफ्नो परिवार खुशी रहेको साहले प्रतिक्रिया दिए ।

यस्तै, नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष कमल कुमार उपाध्यायले पक्राउ पर्न बाँकी रहेका दुई आरोपी पनि पक्राउ परेपछि मात्र महासंघको अभियान सफल हुने प्रतिक्रिया दिनुभयो । बारा आउने हरेक प्रहरी उपरीक्षकसमक्ष महासंघ, बाराले लिखित र मौखिक रुपमा हत्याका आरोपीहरुलाई पक्राउ गर्न अभियान कै रुपमा दबाब दिदैं आएको र अहिले भने फौजदार पक्राउ परेपछि हत्याका आरोपीले सजाय पाउनेछन् भन्ने कुरामा आशा पलाएको उपाध्यायले बताउनुभयो । फरार बाँकी दुई आरोपीहरुसहित हत्यामा संलग्न पाँच जनाले नै सजाय पाएपछि मात्र महासंघ, बाराको अभियान सफल हुने र साहको आत्माले पनि शान्ति पाउने उहाँको भनाई छ ।

सशस्त्र द्धन्द्धका बेला बाराका सक्रिय तथा चर्चित पत्रकार विरेन्द्र साह २०६४ साल असोज १८ गते अपहरित भएका थिए । साहको शव तत्कालिन बारा जिल्लाको डुमरवाना वडा नं. ७ स्थित जंगलमा खाल्डोमा गाडेको अवस्थामा एक महिनापछि कात्र्तिक २२ गते फेला परेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय