बीरगन्ज, ९ चैत्र – एका बिहानै भारतको बिहारबाट आएको एक समाचारले कोरोनाबाट बच्नका लागि नेपाली तयारीलाई झन् दुरुस्त बनाइरहन पर्छ भने बताएको छ । कोरोना संक्रमणबाट बिहारमा एक जनाको ज्यान गएको छ भने अर्का एक जना उपचाररत छन् । यसँसगै भारतमा कोरोना संक्रमणका कारण ज्यान जानेहरुको संख्या ७ पुगेको छ ।
यस्तै, बीरगन्जका एक जना व्यक्तिमा पनि कोरोना संक्रमण (कोभिड १९) देखिएको छ । भारतको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पतालमा उपचाररत ६७ वर्षीय शिव कुमार रुंगटालाई कोरोना संक्रमण पुष्टि भएको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले बताएका छन् । बीरगन्ज घर भएका रुंगटा खदान व्यवसायी भएको यादवले फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो ।
६ दिन अघि बिरामीलाई वीरगञ्जको एक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई अस्पताल लगिएको थियो ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।
अबको तीन हप्ता अत्यन्तै सतर्क हुनुपर्ने
एक कोरोना विशेषज्ञका अनुसार सावधानी नअपनाइए कोरोनाको सुनामी आउन सक्छ । अबको तीन हप्ताभित्र आवश्यक तयारी नगरे भारत धेरै क्षति व्यहोर्ने अर्को देश बन्ने उनको भनाई छ । सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने जोखिममा अब भारत रहेको भन्दै तयारी अवस्थामा रहनुपर्ने बताएका छन् । विश्वका १६८ देशमा देखिएको कोरोनाबाट ३ लाख मानिस संक्रमित छन् । मर्नेको संख्या १३ हजार नाघेको छ । संसारभर तीव्र गतिमा बढिरहेको संक्रमण अब भारततर्फ आउन लागेको डा. रामाननको विश्लेषण छ ।
अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द
यता, नेपालमा कोरोनाको असरलाई न्युन राख्न अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गरिएका छन् । सरकारले सकभर बाहिर ननिस्कन आग्रह गरेको छ । सैनेटाईजर तथा मास्कको प्रयोग बढाउन भनेको छ । बजारमा बढी भिडभाड हुने कार्यालय तथा सार्वजनिक स्थलहरु बन्द गरिएका छन् । लामो दुरीका सवारीमा बन्देज लगाइएको छ । देश बाहिरबाट आउनेहरुलाई कडा चेकजाँच तथा क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाइएको छ ।
देशका विभिन्न स्थानमा क्वारेन्टाईनका लागि घर तथा होटलहरु सरकारलाई जिम्मा लगाइएको छ । देशकै सब भन्दा ठूलो महानगर काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरिसकेको छ । उक्त कोषबाट महानगरपालिकाका साना, मझौला र ठूला वडाहरुलाई क्रमशः २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने महानगरले जनाएको छ ।
त्यस्तै, महानगरले विभिन्न स्थानमा स्वास्थ्य जनशक्तिसहित हेल्प डेस्क स्थापना गर्ने र निःशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने बताएको छ । त्यस्तै, भरतपुर महानगरपालिकाले वडा नं. १० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० शय्याको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरेर सन्चालनमा ल्याएको छ । जितपुर सिमरा उपमहानगरले पनि विशेष उपचार केन्द्र निर्माण गर्दैछ ।
बीरगन्जमा ५० शय्याको आईसोलेसन वार्ड सन्चालनमा
बीरगञ्ज महानगरपालिकामा पनि कोरोनाको संक्रमण न्युन पार्न प्रयासहरु भईरहेका छन् । ५० शय्याको आईसोलेसन वार्ड परवानीपुरस्थित केडिया आँखा अस्पतालमा सञ्चालनमा आइसकेको छ । आईसोलेसन वार्डमा शंकास्पद ३ जना बिरामीको उपचार भएको जसमध्ये २ जनाको डिस्चार्ज भईसकेको र अर्को १ जनाको उपचार भईरहेको जनाइएको छ । बीरगञ्जसहित नेपाल अधिराज्य भरि कोरोना पोजिटिभ भएका व्यक्ति अझै फेला परेका छैनन् ।
त्यस्तै, बीरगञ्ज महानगरपालिकामा रहेका वडाहरुमा सैनेटाईजर छर्ने काम पनि प्रारम्भ भएको बीरगञ्ज महानगरका मेयर विजय कुमार सरावगीले बताए । मेयर सरावगीका अनुसार महानगर अन्तर्गतका ८ वटा वडामा शनिबारसम्म सैनेटाईजर छरिसकिएको छ भने ४ वटा वडामा आईतबार साँझसम्म छरिसकिने छ । बिहारमा कोरोना देखिएको छ, बीरगन्जमा के छ तयारी ? भन्ने प्रश्नमा मेयर सरावगीले भारतसँगको प्रमुख नाका भएकाले केन्द्र सरकारले निर्णय गर्ने बताए । केही दिनका लागि बीरगञ्जका सबै व्यापार व्यवसाय र नाका बन्द गर्ने आफुहरुको मनसाय भएपनि केन्द्र सरकारको निर्णय बमोजिम आफुहरु हिँड्ने मेयर सरावगीले बताए ।
उनका अनुसार कोेरोनाको जोखिम कम गर्न आधारभुत सावधानीहरु अपनाइएको छ । यहाँका सर्वसाधारणलाई साबुन पानीले हात धुन, मास्क र सैनेटाईजरको प्रयोग, सामाजिक दुरी बढाउन, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । यस्तै, सर्वसाधारणहरुको धेरै भेला हुने स्थललाई अर्को सुचना नआउन्जेल सम्मका लागि बन्द गराइएको छ ।
बीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिने
यसैगरी, बीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिने भएको छ । नेपाली नागरिकहरुका हकमा होम क्वारेन्टाइनमा बस्ने सहमति गरेर छाडिनेछ । कहाँबाट आएको हो, कुन स्थानीय तहमा के–का लागि जाने लगायतका विवरण लिएर होम क्वारेन्टाइनमा बस्ने सहमति लिएर छोडिने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । ‘सेल्फ क्वारेन्टाइनमा बस्नेहरुको विवरण लिएर पठाउँछौैं,’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । उनीहरुको विवरण सम्बन्धित स्थानीय तहमा पठाएर अनुगमन गर्न भनिने उनले बताए ।
बीरगञ्ज–रक्सौल बाहेकका सबै नाका बन्द गर्ने निर्णय
यसैबीच, पर्साका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको जिल्ला सुुरक्षा समितिको बैठकले बीरगञ्ज–रक्सौल बाहेकका सबै नाका बन्द गर्ने निर्णय पनि गरेको छ । बैठकले शंकराचार्य गेटस्थित हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने, बीरगन्ज–१६ स्थित नेपाल आर्युवेद मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा क्वारेन्टाइन स्थापना गरी सञ्चालन र व्यवस्थापनको संयोजन गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । साथै, सहयोगका लागि बीरगन्ज महानगरपालिका, नारायणी अस्पताल, नेशनल मेडिकल कलेज लगायतलाई अनुरोध गरिने भएको छ । सीमा क्षेत्रमा भिडभाड कम गर्न बीरगञ्जबाट रक्सौलतर्फ जाने स्थानीय रुटका टेम्पो, ई–रिक्सा, टाँगा लगायतका सवारी साधनलाई भन्सार गेटबाटै फर्काउने निर्णय भएको छ । भारततर्फ जाने लामो रुटका गाडीहरु यसअघि नै रोकिएका छन् । कोरोनाका कारण आईतबारसम्म विश्वभरिमा मृत्यु हुनेको संख्या १३ हजार ५ सय नाघेको छ ।

