बीरगन्ज महानगरद्धारा लकडाउनको आचारसंहिता जारी

spot_img

बीरगन्ज, १४ चैत -बीरगन्ज महानगरपालिकाले लकडाउनको अवधिभर नगरवासीले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको छ । महानगरले नगरवासीलाई सुरक्षित रहन आग्रह गर्दै शुक्रबार विभिन्न १४ बँुदे आचारसंहिता जारी गरेको हो । आचारसंहिता अनुसार हरेक वडाका सम्पूर्ण किराना पसलहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खोल्न भनिएको छ । त्यस्तै, दुधको पसल बिहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र र तरकारी पसल बिहान ५ बजेदेखि बिहान ९ बजे सम्म मात्र खुल्ने जनाइएको छ । तोकिएको अवधिमा तरकारी पसलहरु खुल्ला ठाउँमा र ठेलामा संचालन गर्न नपाइने तथा तरकारीको बिक्री वितरण पसल र सटरहरुबाट मात्र वा वडा अध्यक्षले निर्धारण गरेको ठाउँबाट मात्र संचालन गर्न भनिएको छ ।

यसैगरी, महानगरले खाद्दान, तरकारी आदि नजिकको ठाउँबाट खरिद गर्न र खरिद बिक्री गर्न जादाँ सवारी साधनको प्रयोग नगरी परिवारको एक व्यक्तिद्वारा मात्र किनमेल गर्न आग्रह गरेको छ । नगरवासीलाई सरसामान खरिद गर्दा पसलमा भिडभाड नगरी व्यक्ति÷व्यक्ति बीच कम्तिमा ३ फिटको दुरी कायम गर्न भनिएको छ । यदि भिडभाड भएमा सम्बन्धित पसल बन्द गरिने तथा पसल धनी र भिडभाड गर्ने ग्राहकलाई कानुन बमोजिम कारवाही गरिने महानगरले जनाएको छ । यसैगरी, थोक र खुद्रा किराना तथा तरकारी पसलहरुले आफ्नो सरसामानको आपूर्ति साँझ ६ बजे देखि बिहान ६ बजे सम्ममा गरिसक्न पनि महानगरले समय तोकेको छ ।

यस्तै, ग्याँसको डिपो निर्वाध रुपमा खोल्न बिक्रेतालाई आग्रह गरिएको छ । ग्याँस सिलिन्डर टोकन प्रणालीद्वारा वितरण गरिने महानगरले जनाएको छ । ग्याँसको बिक्रीवितरणलाई सहज बनाउन महानगरले जनप्रतिनिधिलाई समन्वय गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ । यसैगरी औषधि पसल निर्वाध रुपमा खुल्ने हुदाँ डाक्टरको पुर्जी लिएर मात्र औषधि खरिदको लागि जान नगरवासीलाई महानगरले अनुरोध गरेको छ । यस्तै, अत्यावश्यक अवस्था बाहेक, एक वडा र टोलका व्यक्तिहरु कुनै पनि बहानामा अर्को वडा र टोलमा नजान निर्देशन जारी गरिएको छ । यसैबीच, महानगरका ३२ वटै वडाहरुमा गरिब, जरुरतमन्द व्यक्तिहरुलाई निशुल्क रुपमा खाद्यान्न वितरण गरिने महानगर प्रमुख विजय सरावगीले जनाएका छन् ।

यसका लागि सिमान्तकृत व्यक्तिले आफ्नो नाम सम्बन्धित वडा अध्यक्षलाई टिपाउनु पर्ने र प्राप्त विवरण अनुसार महानगरको अधिकृत स्तरको कर्मचारीको उपस्थिति र वडा अध्यक्षको रोहबरमा सम्बन्धित व्यक्तिको घर दैलोमा खाद्यान्न पु¥याउने व्यवस्था गरिएको सरावगीले जानकारी दिए । यस्तै, यस्तो संकटको अवस्थामा कालो बजारी गरेको पाइएमा त्यस्ता व्यक्ति वा संस्थालाई कानुन बमोजिम कारवाही गरिने मेयर सरावगीको भनाई छ । यस्तै, कोरोना (कोभिड१९) संक्रमणबाट बच्नको लागि जानकारी गराईएका उपायहरुको पालन गरी आफु, आफ्नो परिवार र सामाजलाई जोगाउ मेयर सरावगीले अनुरोध गरेका छन् ।

यस्तै, आचारसंहिता जारी गर्दै मेयर सरावगीले विदेश र बाहिरबाट आएका तथा कोरोना (कोभिड१९) संक्रमणका शंकास्पद व्यक्तिको बारेमा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउन हुन पनि अनुरोध गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय