बीरगन्ज, १४ चैत -नेपाली सेनाको सुरक्षा गस्ती टोली र तस्कर बीच गोली हानाहान हुदाँ शुक्रबार एक तस्करको ज्यान गएको छ ।
पर्सा राष्ट्रिय निकुन्जमा भएको शुक्रबार बिहान करीब ९ बजेर ४० मिनेटमा भएको गोली हानाहानमा गोली लागेर एक तस्करको ज्यान गएको हो ।
मृत्यु हुनेमा मकवानपुर पदमपोखरीका भिमलाल मोक्तान रहेका छन् । त्यस्तै, खुट्टामा गोली लागेर सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते गम्भीर घाइते भएका छन् । घाइते छन्त्याललाई उचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको नेपाली सेनाका वार्डेन अमर महर्जनले जानकारी दिए ।
सो क्रममा सेनाले एक जना तस्करलाई पक्राउ पनि गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका मोहनसिंह दोङ रहेका छन् । उनलाई बाराको आधाभारस्थित सेनाले हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिए अनुसार निकुन्जको भित्रि जंगलमा शुक्रबार बिहान वन्यजन्तु चोरी शिकारी गर्ने तस्करहरुको समूह र सेनाबीच गोली हानाहान भएको हो ।

