बीरगन्ज, १८ चैत्र – अरु बेला बिरामी तानातान गर्ने निजी अस्पतालहरुले अहिले बिरामीलाई ढोकाबाटै पन्छाउन थालेका छन् । सामान्य अवस्थामा बिरामीलाई पनि कोभिड–१९ सँग लक्षण मिलेको भन्दै गैरजिम्मेवारीपूर्ण तरिकाले जबरजस्ती डिस्चार्ज गर्न थालिएको छ । अरु बेला सरकारी अस्पताल पुगेका बिरामीलाई तानीतानी निजीमा भर्ना गराउन पछि नपरेका अस्पतालको रवैया अहिलो यस्तो छ । सरकार भने कोभिड–१९ को शंकास्पद बिरामीको उपचार गर्दा अन्य बिरामीलाई असर नपर्ने दाबी गरिरहेको छ । जबकि निजी अस्पतालहरुले परीक्षण नै नगरी कोभिड–१९ सँग लक्षण मिलेको भन्दै गैरजिम्मेवारीपूर्ण तरिकाले जबरजस्ती डिस्चार्ज गर्न थालेका छन् । संकटका बेला सरकारलाई साथ दिने वाचा गरेका निजी अस्पतालहरुले वाचा पुरा गर्नु त कहाँ को कहाँ अन्य रोग लागेका वा विगत देखि विभिन्न रोगबाट ग्रसित बिरामीलाई डिस्चार्जसँगै र बाहिरैबाट धपाउन थालेका हुन् । जसले गर्दा त्यसबाट सम्बन्धित बिरामी र उनीहरुका आफन्तमा मात्रै होइन, सरकारी अस्पतालहरुमाथि पनि अनावश्यक दबाब, तनाव र बोझ बढेको छ । निजी अस्पतालबाट निकालिएपछि सरकारी अस्पतालमा आईसीयु नपाउँदा बिरामीको ज्यानसमेत धरापमा परेको छ । सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि उपचार अभावमा बिरामी थप पिडामा परेका छन् । त्यस्तै, मोफसलका सरकारी अस्पतालमा उपलब्ध सिमीत श्रोत साधन तथा हेलचेक्र्याईले बिरामीलाई थप तनावमा पार्ने गरेको छ । फलतः उपचारका लागि काठमाडौंका सरकारी अस्पताल बिरामीका लागि एक मात्र विकल्प बन्न पुग्छ । तर कतिपय बिरामीको काठमाडौं पुग्दा न पुग्दै श्वास रोकिन्छ भने कोही उपचाररत ज्यान गुमाउँछन् ।
नेशनलबाट निकालिएका बाराका युवकको मृत्यु कथा
यस्तै घटनाको मुख्य पात्र बने, बाराका एक युवक । थे्रसरले खुट्टा काटेका ती युवकलाई बीरगन्जस्थित नेशनल मेडिकल कलेजले फर्काएपछि काठमाडौं लग्ने क्रममा उनको ज्यानै गयो । बाराको कलैया उपमहानगरपालिका वडा नं. २२ का २५ वर्षीय युवक विजय कुशवाहा निजी अस्पतालको यस्तो गैरजिम्मेवारपूर्ण रवैयाको सिकार भएका हुन् । गत शनिबार थ्रेसरले गहुँ काट्ने क्रममा खुट्टै थ्रेसरमा परेको थियो । थ्रेसरले गहुँ झै छियाछिया भएको खुट्टाको उपचारको लागि सोही दिन कुशवाहालाई नेशनल मेडिकल कलेज लगियो । सो दिन अस्पतालले उनलाई आईसियुमा राखेर उपचार पनि ग¥यो । तर बिहान अर्को सिफ्टका डाक्टरले कोरोना भाईरस लागेको भन्दै उनलाई छुन समेत नमानेको कलैया उपमहानगरको वडा नं. २२ का अध्यक्ष लालबाबु प्रसाद यादवले बताए । नेशनल मेडिकल कलेजले कुशवाहालाई निकालेपछि, बीरगन्जस्थित नारायणी अस्पताल नपु¥याईएको पनि होइन । तर नारायणीले भेन्टिलेटर नभएको भन्दै बिरामी पन्छाएपछि बिरामीसहित आफन्त काठमाडौं जान बाध्य भए । तर काठमाडौं नपुग्दै बाटोमै विजय कुशवाहाले अन्तिम पटक श्वास फेरे ।
अन्य रोगका बिरामीलाई सास्ती
खुट्टाका काटिएका बिरामीलाई कोरोनाको शंकामा चिकित्सकले उपचार गर्न नमान्दा यो घटना घट्यो । यसका साथै सामान्य रुघा खोकी ज्वरो लगायतका बिरामीले पनि यतिबेला सास्ती खेप्नु परेको छ । निजीले उपचार गर्न नमान्ने अनि सरकारीमा श्रोत साधन समयमा उपलब्ध नहुदाँ नागरिकको ज्यान जोखिममा पर्न थालेको छ । सरकारी अस्पतालको यस्तो कमजोर अवस्था रहेका बेला सुविधा सम्पन्न आईसीयु रहेको दाबी गर्ने निजी अस्पतालले कोभिड–१९ को आशंकामै बिरामीलाई धपाउने गरेका छन् । यद्यपि, कोरोनाको उपचारका लागि अस्पतालै नै जिम्मा लगाउन तयार रहेको भन्दै मिडियाबाजी गर्दै संचालकहरुले यस्तो बताएका थिए । यस्तै, बीरगन्जका केही अस्पतालमा कोरोना आशंकित बिरामीका लागि अलग्गै आइसालेसन वार्ड नबनाईको होइन । नेशनल मेडिकल कलेजमै पनि कोरोनाका बिरामीका लागि एउटै ब्लकनै छुट्याइएको दाबी गरिएको छ । तर उपचारका अभावका कोरोनाका बिरामी होइन, अन्य रोगका बिरामीले ज्यान गुमाउन थालेका छन् ।
स्तरोन्नती गरिए पनि नारायणी अस्पतालको अवस्था उस्तै
यता, नारायणी अस्पताललाई विशेषज्ञ सेवासहित ५०० बेडको प्रदेश २ कै नमूना अस्पतालको रुपमा स्तरोन्नती गरेको दाबी गरिएको छ । तर यस्तो विषम परिस्थितिमा अस्पतालमा भेन्टिलेरको अभाव छ । नामका लागि स्तरोन्नती गरिएपनि बिरामीलाई आवश्यक सेवासुविधा उस्तै छ । भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा कुनै परिवर्तन भएको छैन । नारायाणी उपक्षेत्रीय अस्पताल रहँदा जस्तो सेवा सुविधा र चिकित्सकहरु थिए, त्यहीं नै यथावत छन् । नेपाल सरकारको मन्त्रिपरिषदको मिति २०७५ पुष १६ गते बसेको बैठकले नारायणी उपक्षेत्रीय अस्पताललाई नारायणी अस्पतालको रुपमा रुपान्तरण गरेको थियो ।

