बीरगन्ज, १८ चैत्र – भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाराका क्यान्सर पिडित एक युवकलाई उपचारका लागि भर्ना नगरेपछि परिवार थप पिडामा परेको छ । बाराको देवताल गाउँपालिका वडा नं. १ का २५ वर्षीय युवक अर्जुन कुमार बैठालाई अस्पतालले घर फिर्ता पठाइदिएको हो । कोरोनाको बहाना गर्दै उपचार गर्न अस्पतालले नमानेपछि बाध्य भएर घर फर्कनु परेको युवकका बुबा लालबाबु बैठाले दुखेसो पोखे ।
भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरुले कोरोनाको महामारीको यस्तो बेलामा बिरामीलाई घरमै राख्न भन्दै अस्पताल भर्ना गर्न नमानेको परिवारको गुनासो छ । क्यान्सर रोगकै अस्पताल पु¥याउँदा समेत बिरामीले उपचार नपाउँदा युवकको परिवारमा रुवावासी चलेको छ ।
यसअघि, अस्पतालले लेखेको औषधि सेवन गरिरहेको ती युवकलाई थप उपचारका लागि भरतपुर लगिएको थियो । तर अस्पतालले उपचारका लागि भर्ना गर्न नमानेपछि अर्जुनलाई अहिले घरमै राखिएको छ । भरतपुरस्थित सो अस्पतालले फर्काएपछि उनलाई बीरगन्जस्थित नेशनल मेडिकल कलेज र नारायणी अस्पतालमा पनि भर्ना गराउन प्रयास गरिएको बडकिफुलवरिया निवारी युवकका बुबा लालबाबु बैठाले बताए । तर बीरगन्जका अस्पतालले पनि भर्ना गर्न नमानेको बैठाको भनाई छ ।
अहिले युवकको परिवारमा रुवावासी चलेको छ । बाराकै कलैया निवारी विजय कुशवाहाको जस्तै घटना बैठाको परिवारमा पनि घटे, त्यसको जिम्मा कसले लिने ? प्रश्न चिन्ह खडा भएको छ ।

