बीरगन्ज, ३ जेठ – कोरोनाको इपिसेन्टर बन्दै गएपछि पर्सामा यतिबेला स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञालाई थप कडा बनाउन भन्दै स्थानीय प्रशासनले सेना समेत परिचालन गरेको छ । अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने प्रशासनले आदेश दिएको छ । निषेधाज्ञा कडा बनाउने नाममा सेनाले स्वास्थ्यकर्मी र प्रहरीले छ महिने बच्चालाई दुध किन्न निस्केका एक सर्वसाधारणलाई कुटेको छ । त्यस्तै, बीरगन्जको नेशनल मेडिकल कलेजबाट बुबाको डायलासिस गरेर फर्किएका कमेडियन आदर्श मिश्रासँग पनि प्रहरीले दुर्व्यवहार गरेको छ । ड्राईपोर्ट चौकमा प्रहरीले मिश्रालाई “जताबाट आएको हो, उतै जानु,, डायलासिस सायलासिस केही थाहा छैन, जरुरी परे एम्बुलेन्समा आउनु जानु” भनेको भन्दै सामाजिक सन्जालमा उनले आफ्नो पिडा भिडियो मार्फत पोखेका छन् । यी केही प्रतिनिधि घटना मात्र हुन् ।
यी सबै घटनाले निषेधाज्ञा कडा बनाउने नाममा सुरक्षाकर्मीले सर्वसाधारणलाई सास्ती मात्र दिएको आज साँझको घटनाले साबित गरेको छ ।
बीरगन्ज वडा नं. १५ प्रतिमा चौकस्थित नेपाल आयल निगमको गेट अगाडि बम फेला परेको थियो । सो बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । नेपाल आयल निगम अगाडि भेटिएको डर त्रास देखाउन बम जस्तो बनाएर राखिएको सेनाका लेफ्टिनेन्ट कर्नल श्रीजन बहादुर मल्लले बताए । साथै, सो वरपरका स्थानीय बासिन्दाले पनि नेपाली सेनाले बम डिस्पोज गर्दा पड्किएको आवाज सुनेको बताएका छन् । तर पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने सो बस्तु बम नभएको दाबी गरिन् ।
डर त्रास नै देखाउन भए पनि निषेधाज्ञा जारी भएको बेला कसरी राखियो त , बम ? को प्रति लक्षित थियो बम ? कसलाई निशानामा राखेर बम राखिएको थियो त ? स्थानीय प्रहरी र प्रशासनसँग यी प्रश्नको जवाफ छैन ।
बम राखिएको ठाँउ प्रतिमा चोकस्थित मेनरोडमा पर्छ । बाईपास रोडको पूर्वपट्टि छेऊमै नेपाल आयल निमगको कार्यालय छ । कार्यालयदेखि दुई मिटर उत्तर प्रतिमा चौकमा प्रहरी आलोपालो ड्युटी गरिरहेका हुन्छन् । त्यसमाथि, अहिले सरकारले लकडाउन जारी गरेको र लकडाउनले नभएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । संक्रमित भागे गोली ठोक्ने सम्मको आदेश दिएको छ, प्रशासनले ।
प्रहरी र सेनाले गस्ती पनि गरिरहेका हुन्छन् । भारतसँगको सीमा र छिमेकी जिल्ला बाराबाट पनि आवतजावत बन्द गरी पर्सा जिल्ला नै सिल गरिएको जस्तै अवस्थामा छ । घटना भएको केहीबेर अघिसम्म, प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत बीरगन्जमै थिए ।
अनि, यस्तो बेला बीरगन्जको एक मुख्य चोक मै बम भेटिनुले स्थानीय प्रशासन र प्रहरीको दाबी फितलो साबित भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारेको दाबी गर्ने प्रहरी र प्रशासनको नियत सर्वसाधारणलाई सास्ती दिनु मात्र रहेको स्थानीयको प्रतिक्रिया दिएका छन् ।
यतिबेला, स्थानीय प्रशासन र प्रहरी भने कमिकमजोरी लुकाउन घटना ढाकछोप गर्ने प्रयासमा छन् ।

