जनकपुर, ७ असार- जनकपुरको ५२ कुट्टि ७२ कुण्ड मध्ये एक श्री रामजानकी मन्दिर नुनिया कुट्टी एक हो । यस मन्दिरको जग्गामा स्थानीयवासीको भनाई अनुसार भ–ुमाफियाको चलखेल हुँदैछ ।
यस मन्दिर को जग्गामा जनकपुरका दुई पक्षबीच दाबी हुँदा झडप भएको छ । जनकपुर ५ का प्रेमबाबु प्रसाद साह र अर्को नुनिया समाजले पनि दाबी प्रस्तुत गरेपछि भिडन्त भएको छ । यसैक्रममा दाबी प्रस्तुत गर्ने पक्षले उक्त कुट्टीमा निर्मित हनुमानको मन्दिरमा डोजर लगाई तोडफोड गरेका छन् । तोडफोडको विरोधमा स्थानियवासी उत्रेपछि प्रहरीले चारजनालाई नियन्त्रणमा समेत लिएको छ ।
प्रहरीले श्री महाविर युवा कमिटीका पुर्व अध्यक्ष सुनिल कुमार प्रसाद, महासचिव राजा भगत, पुर्व महासचिव अजय कुमार गुप्ता र नुनिया कुट्टीका महन्थ लक्ष्मण महतो सहित केही स्थानियलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
कमिटीका पुर्व महासचिव गुप्ताले दशकौंदेखि रहेको हनुमान मन्दिर तोडफोड गरि व्यक्तिगत रुपमा गर्न लागिएको जमिन कब्जाको विरोध गर्दा आफुहरु पक्राउ परेको बताए ।
उनका अनुसार प्रहरी समेतको मिलिभगतमा वडा नं. ५ निवासी प्रेमबाबु साहले सो जमिनमा घर ठड्याउन लागि परेपछि स्थानियले विरोध गर्दै आएका छन् ।
वर्षौ वर्ष देखि कट्टीको भोगचलनमा रहेको जमिन कब्जा गर्न चाहँदा आफुहरु विरोध गरेको समेत उनीहरुको भनाई छ ।

