काठमाडौं,१४ वैशाख । पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध दायर भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनः सुनुवाइका लागि पेसी तोकिएको छ।
न्यायाधीशद्वय बालकृष्ण ढकाल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त मुद्दा पहिलो नम्बरमै सुनुवाइका लागि राखिएको हो।
२०७७ असोज ५ गते सर्वोच्च पुगेको यो मुद्दा अहिलेसम्म १६ पटक पेसी तोकिए पनि लामो समयदेखि सुनुवाइ हुन सकेको थिएन। पछिल्लो पटक २०८० भदौ ६ मा न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र डा. नहकुल सुवेदीको इजलासले मिसिल झिकाउने आदेश दिएपछि प्रक्रिया रोकिएको थियो।
यसअघि विशेष अदालतले २०७६ फागुन १५ मा साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद सजाय सुनाउँदै १९ करोड ४४ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति जफत गर्न र सोही बराबर जरिवाना तिराउन आदेश दिएको थियो।
त्यसैगरी, सम्पत्ति शुद्धीकरण मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएको थियो। अदालतले साहले करिब १४ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको थियो।
फैसलामा असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेको थियो भने साह स्वयं पनि सर्वोच्च पुगेका थिए। दुवै पक्षका निवेदनलाई सँगै राखेर सुनुवाइ हुँदै आएको छ।
अख्तियारले २०७३ सालमै करिब ३१ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्तिको आरोपमा मुद्दा दायर गरेको थियो। पछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत ३२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै छुट्टै मुद्दा दायर गरेको थियो।
अनुसन्धानका क्रममा सार्वजनिक पदमा रहँदा अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरी आफन्तमार्फत लुकाएको आरोप साहमाथि लगाइएको छ। अब सर्वोच्च अदालतको आगामी सुनुवाइले यस बहुचर्चित मुद्दामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

