काम लागेन मन्त्रालयले वीरगन्ज पठाएको पीसीआर किट, ल्याब ३ दिनदेखि बन्द

spot_img

वीरगन्ज,९ असार -वीरगन्जमा पीसीआर किटको अभावमा कोरोनाको टेष्ट ३ दिन देखि ठप्प रहेको छ । स्वाब परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले पठाएको पीसीआर किट काम नलागे पछि वीरगन्ज स्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा किट अभाव कारण कोरोना परिक्षण कार्य ३ दिनदेखि ठप्प हुदै आएको छ । किट अभावका कारण आइतवार देखि परिक्षण अवरुद्ध भएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

रि–एजेन्ट (पीसीआर )किट र आरएनए एक्सट्रयाक्सनको अभावमा आइतबार अपरान्हदेखि पीसीआर ल्याब संचालनमा नआएको ल्याब प्रमुख डाक्टर नीरा पाठकले जानकारी दिएकी छिन् । पछिल्लो समय स्वास्थ्य मन्त्रालयले पठाएको चिनिया कम्पनी ‘सनस्योर बायोटेक’ को पीसीआर किट अस्पतालको ल्याबमा रहेको पीसीआर मेशीनसँग मेल नखाएकाले ल्याब ठप्प नै भएको उनले बताइन्।

मन्त्रालयले पठाएको किट वीरगन्ज अस्पतालको मेसिनसँग मेल नखाए पछि कोरोनाको परिक्षण अवरुद्ध भएको हो । किटले देखाएको समस्या बारे मन्त्रालयमा जानकारी गराइएको भए पनि मन्त्रालय अहिलेको लागि होल्ड गर्न भने पछि परिक्षण बन्द गरिएको नारायणी अस्पतालले जनाएको छ ।

प्रदेश सरकारको आग्रहमा संघीय सरकाले नारायणी अस्पतालमा बैशाख ३ मा पठाइ दिएको पीसीआर मेसिन जडान गरी बैशाख २३ देखि पीसीआर ल्याब संचालनमा ल्याइएको थियो । नारायणी अस्पतालको ल्याबमा प्रदेश २ का पर्सा बारा सहित ६ जिल्लामा संकलन गरिएका स्वाबको पीसीआर परीक्षण हुँदै आएको थियो । विभिन्न प्राविधिक समस्याका कारण पटक पटक वीरगन्जको पीसीआर परिक्षण अवरुद्ध हुदै आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायका अनुसार ल्याब संचालनमा आएदेखि यता आठ वटा कम्पनीका पीसीआर किट स्वास्थ्य मन्त्रालयले पठाएको र ती सबै किट पीसीआर मेसिनसँग मिल्दो भएकाले प्रयोगमा आएको थियो । तर पछिल्लो समय मन्त्रालयले पठाएको ‘सनस्योर बायोटेक’ कम्पनीको पीसीआर किट भने मेशीनसँग मिल्दो नभएकाले स्वाब परीक्षण कार्य रोकिएको उनले बताए ।

उपाध्यायका अनुसार ‘सनस्योर बायोटेक’कम्पनीको पीसीआर किट वीरगन्जको ल्याबमा मात्र नभइ भरतपुर, हेटौंडा, नेपालगन्ज र काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत प्रयोगमा आउन सकेको छैन । नारायणीको ल्याबमा परीक्षण बन्द हुँदा पर्सासहित विभिन्न जिल्लाबाट संकलन गरी अस्पतालमा ल्याइएका १ हजार ३ सय स्वाब , चेकजाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको मेसु उपाध्यायले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय