काठमाडौँ,०२ असार । नेपालमा यस वर्ष मनसुन भित्रिने समय केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग का अनुसार सरदर जुन १३ आसपास नेपालमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष हालसम्म मनसुनी प्रणाली देशमा प्रवेश गर्न सकेको छैन। भूउपग्रह तथ्यांक र गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन केही दिन पछाडि सर्न सक्ने देखिएको विभागले स्पष्ट पारेको छ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार प्रशान्त महासागर क्षेत्रमा विकसित भएको एल निनो को प्रभाव क्रमशः बलियो बन्दै गएको छ। एल निनो सक्रिय हुँदा दक्षिण एसियाली मनसुनी प्रणाली कमजोर हुने र नेपालमा मनसुन ढिलो प्रवेश गर्ने सम्भावना बढ्ने मौसमविद्हरूको विश्लेषण छ।
विगतका वर्षहरूमा पनि एल निनोको प्रभावका कारण मनसुन सरदर मितिभन्दा ढिलो भित्रिएको विभागले जनाएको छ। सन् १९७२, १९८२, १९८७, १९९७, २००२, २०१६, २०१९ र २०२३ लगायतका वर्षमा मनसुन जुन मध्यदेखि अन्त्यसम्मका विभिन्न मितिमा नेपाल प्रवेश गरेको तथ्यांकमा उल्लेख छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको र अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ।
विभागले कृषक, जलस्रोत तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई सम्भावित असरलाई ध्यानमा राखी पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ।




