विश्व नै अहिले कोरोनासँग लडिरहेको छ । विकसित देशहरु भन्दा कम स्रोत साधन भएको हाम्रो देश नेपाल पनि जसोतसो कोरोनासँग लडिरहेको छ । स्रोत साधनले भ्याएसम्म सरकार कोरोना महामारीको नियन्त्रणमा लागिरहेको छ । कोरोनालाई सरकारले नियन्त्रण गर्न नसकेको तथा आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुले सही उपचार नपाएको भन्दै देशभरी विरोधहरु पनि भइरहेको छ ।
कोरोना सरकारको टाउको दुखाई बनिरहेका बेलामा भारतसँगको सिमा विवाद र नागरिकता विधेयकले गर्दा पनि सरकारलाई घेरामा हाल्ने प्रयासहरु भइरहेको छ । प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमै चौतर्फी घेरामा हाल्ने प्रयास भइरहेको तथा सरकारबाट हटाउने खेल भईरहेको बताई सकेपछि अहिले अपुष्ट रुपमा दौडधुप भइरहेको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओली पार्टीको शीर्ष तहका केही नेताबाट चर्को असहयोग भइरहेको महसुस गरिरहेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डको नेतृत्वमा आफू माथि गम्भीर षडयन्त्र हुँदै गरेको निचोडमा ओली छन् ।
आफ्नै कार्यकारी अध्यक्षको नेतृत्वमा प्रतिपक्षी दलको जस्तो व्यवहार भइरहेको, आफूलाई तेजोबध गर्न खोजिएको र पदच्युत गर्न भेलाहरू सम्पन्न गरिएको प्रधानमन्त्रीको बुझाईपछि आफ्नो पदीय आयु बढाउन पदीय गरिमा भुल्दै छिमेकी देशका मिडिया र दुतावासको विरुद्ध उत्रिनुलाई कतिले असहज रुपमा लिएका छन् ।
विधि र पद्धति भन्दा गुटबन्दीमा रमाउने, पार्टीलाई बेवास्ता गर्ने, सम्पूर्ण पार्टीलाई एकत्रित गर्दै पार्टीको सहयोग र सल्लाहमा सरकार सञ्चालन गर्नुको सट्टा आफू मात्र एकल राष्ट्रवादी भएको भन्दै छिमेकी देश विरुद्ध सार्वजनिक रूपमा बोलेसँगै पार्टीका शीर्ष नेतृत्व प्रधानमन्त्रीसँग रुष्ट छन् । प्रधानमन्त्री ओलीले पार्टी हाँक्न नसकेको, सरकार चलाउन पनि नसकेको, पार्टीको शाख जोगाउन नसकेको, भारतको विरोध नै राष्ट्रवादको रोडम्याप बनाएको, पार्टी पद्धतिलाई बेवास्ता गर्ने कार्यशैलीको कारण कार्यकारी अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिँदै मार्ग प्रशस्त गर्न अनुरोध गरे । अध्यक्ष प्रचण्डको अनुरोधपछि प्रधानमन्त्रीले नेकपा स्थायी समिति बैठकमा आफ्नो नेतृत्वको सरकारले अत्यन्त राम्रो काम गरिरहेको, आफूले दुवै पद नछोड्ने, पार्टीको निर्णय पनि नमान्ने जनाउँदै बैठकबाट आराम गर्न निस्किए ।
आफ्नै कारणले असफल भएपछि या अप्ठ्यारोमा परेपछि ‘बाह्य शक्ति’लाई आरोप लगाएर पद जोगाउने प्रवृत्तिलाई पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीको अङ्कगणितले साथ नदिएपछि प्रधानमन्त्रीले संविधानको दुरुपयोग गर्ने सङ्केत प्राप्त भएको छ । पार्टीभित्रको शक्ति सन्तुलनमा तल पर्ना साथ चलिरहेको संसद् अधिवेशन बिना कारण अन्त्य गरेर प्रधानमन्त्रीले आफ्नो अलोकतान्त्रिक छवि देखाई दिएका छन् । पार्टी झगडामा जनप्रतिनिधिहरूको वैध र सर्वोच्च मञ्चलाई शत्रु देख्न पुग्दा प्रधानमन्त्रीको नियत सफा नरहेको मान्न सकिन्छ । प्रधानमन्त्रीको पछिल्लो अभ्यासहरू लोकतान्त्रिक र राजनीतिक हुन नसक्दा मुलुकको संविधान थप दुरुपयोग हुने चिन्ता बढेको छ ।
अर्कोतर्फ, ओलीको पक्षमा देशैभरि समर्थनमा प्रदर्शनहरु भएका छन् । यसले झन् नेकपा पार्टी भित्रको गुटलाई उदाङ्गो पारी दिएको छ । उसो त सिमाकै विवादमा ओलीलाई हटाउने सडयन्त्रण भएको छ भने त्यो अनुचित हुने धेरैको बुझाई छ । ओलीलाई अहिलेको अवस्थामा सरकारबाट हटाउने हो भने देशी विदेशी शक्ति केन्द्रले नेपालमा काम गरिरहेको छ भने प्रष्ट हुने केहि राजनितिक विश्लेषकहरुको राय छ । तर कुरो जे जस्तो भए पनि नेतृत्व कमजोर भए पनि मौकामा चौका हानेर सरकारको नेतृत्व हत्याउने नेपाली राजनीतिको पुरानो रोग त्यो अहिले पनि देखिएको हो । त्यसकारण यी कुराहरु बाट माथि उठेर कम्युनिष्ट नेताहरुले काम गर्नु जरुरी रहेको देखिन्छ ।




