spot_img

आर्थिक निष्ठा कायम गरी जनभावना अनुरुप काम गर

spot_img
spot_img

नेपाली काँग्रेस ठोरीले गाउँपालिका भ्रष्टाचारमा डुबेको भन्दै आइतबार गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र बुझायो । निर्वाचित भएको ३ वर्ष बितिसक्दा समेत गाउँपालिकामा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतमा जनचाहना अनुसार काम गर्न नसकेको र भ्रष्टाचारमा डुबेको आरोप काँग्रेसले लगाएको छ । निर्वाचित भएको ३ वर्ष बितिसक्दा समेत जनताले परिवर्तनको अनुभूति गर्न नपाएको भन्दै काँग्रेसले गाउँपालिकाको कार्यशैलीप्रति नै प्रश्न गरेको छ ।

करिब २० वर्षपछि स्थानीय तहको निर्वाचन भएपछि जनतामा आशाको दियो बलेको थियो । लामो समय कर्मचारीतन्त्रबाट हाँकिएका स्थानीय तहमा जनताले आफ्ना जनप्रतिनिधिको नेतृत्वबाट विकासको अपेक्षा गरेका थिए । स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएपछि जनताले आफ्ना समस्या सजिलै हल गरिदिन्छन् र विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि गाउँ–ठाउँले पनि फड्को मार्छ भन्ने सोचेका थिए । लामो समयपछि भएको स्थानीय तहको निर्वाचनले विकासको एउटा लहर ल्याउने, जनसहभागिता, पारदर्शिता, भ्रष्टाचारको अन्त्य हुने आम अपेक्षा थियो, जुन उत्साहप्रद रुपमा हुन सकेन । जनताले सोचेजस्तो भएको पाएका छैनन् । विकासको नारा जतिसुकै उग्र लगाए पनि नारालाई कार्यरुप दिने रणनीति नअपनाएर जनप्रतिनिधिले जनअपेक्षा अनुसारको कार्य नगरेको देखिन्छ । जनताको मतको विश्वास प्राप्त निर्वाचित जनप्रतिनिधिहरुबाट आज जनअपेक्षा अनुसारको कार्य प्रगति नभएको देख्दा विश्वासमा सङ्कट पैदा भएको छ ।

एकातिर जनअपेक्षा अनुसारको कार्य प्रगति नभएको देख्दा विश्वासमा सङ्कट पैदा भएकै छ भने अर्कातिर जनप्रतिनिधिहरु आफ्ना सेवासुविधा बढाउनेदेखि लिएर भ्रष्टाचारमा लिप्त भएका छन् । यो बेथिति प्रदेश २ मा अझ धेरै छ । महामारीकै बीच पनि गण्डकी प्रदेश र प्रदेश २ सरकारले स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा दोब्बरले बढाएका छन् । सेवा सुविधा बढाएर पनि जनताका पिरमर्का सुनिदिए त हुन्थ्यो नि, परिस्थिति ठीक उल्टो छ । सबैतिर ढिलासुस्ती छ, भ्रष्टाचार छ, कमिसनखोरी छ । आर्थिक अनियमितताकै गोलचक्करमा थोर बहुत भएका काम पनि गुणस्तरहीन छन् । प्रदेश २ मा आर्थिक अनियमितता यति मौलाएको छ कि अख्तियारले आफ्नो प्रतिवेदनमा प्रदेश ३ र प्रदेश २ बाटै भ्रष्टाचारका सबैभन्दा धेरै उजुरी परेको तथ्यांक उल्लेख गरेको छ । अख्तियारले गत साल राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा प्रदेश २ मा भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिका उजुरी २१ दशमलव ५० प्रतिशत परेको उल्लेख छ । यसले पुष्टि के गरेको छ भने यहाँ भ्रष्टाचार बढेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि पनि यसमा सुधार ल्याउन नसक्नु र जनप्रतिनिधि उल्टै भ्रष्टाचारमा लिप्त हुनुले जनताको आशामा कुठारघात भएको छ ।

विगतको सफल व्यक्ति जनताबाट निर्वाचित भएको यो ५ पाँच वर्षे अवधिमा नै असफलताको बिल्ला भिर्ने अवस्थामा आएका छन् । लोकतान्त्रिक परिपाटीको अत्यन्त राम्रो पक्ष निर्वाचन भए पनि विकासका कार्यमा जनप्रतिनिधिहरु खरो रुपमा उत्रन नसक्नु लोकतान्त्रिक पद्धति विकासकै लागि डरलाग्दो पक्ष हो । यसलाई नसुधार्ने हो भने हामीलाई लोकतान्त्रिक पद्धतिप्रति नै निराशा तथा नेता कर्मचारीलाई गाली र आलोचना गर्न बाहेक हाम्रो ठूलो प्रगति केही हुनेवाला छैन । आर्थिक निष्ठामा रही जनताको सेवामा तत्पर रहनु नै सच्चा जनप्रतिनिधिको आजको कर्तव्य हो । कल, छल र बल गरेर निर्वाचित हुँदैमा वैधानिक ५ वर्ष सकिए पनि जनताको मनमुटुमा सदैव वैध बन्नलाई जनभावना अनुरुप कार्य गर्ने सीपको विकास भने अवश्य गर्नु जरुरी छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय