spot_img

मधेश सरकारले ल्याउँदै अहिलेसम्मकै सानो बजेट, आकार ४२ अर्ब रुपैयाँभित्र सीमित

spot_img
spot_img

जनकपुर, ०१ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज अहिलेसम्मकै सानो आकारको बजेट सार्वजनिक गर्दैछ। प्रदेश सरकार स्थापनापछि पहिलोपटक बजेटको आकार ४२ अर्ब रुपैयाँभन्दा कम रहने तयारी गरिएको छ।

प्रदेशसभा बैठकमा अर्थमन्त्री युवराज भट्टराई ले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बजेट प्रस्तुतिका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षका लागि चालु तथा पुँजीगत खर्च समेटेर करिब ४१ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिएको छ। बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन तथा यातायात क्षेत्रलाई प्राथमिकता दिइने बताइएको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा मधेश सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको थियो। तर अपेक्षित राजस्व संकलन हुन नसक्दा र करिब १२ अर्ब रुपैयाँको बजेट घाटा देखिएपछि सरकारले विकास आयोजनाहरूमा २० प्रतिशतसम्म बजेट कटौती गर्नुपरेको थियो। आर्थिक क्षमताभन्दा ठूलो बजेट ल्याउँदा प्रदेश सरकार वित्तीय दबाबमा परेको विश्लेषण गरिएको छ।

यसपटकको बजेट यथार्थपरक र कार्यान्वयनयोग्य बनाउने प्रयासस्वरूप आकार घटाइएको जनाइएको छ। साथै, उपभोक्ता समितिमार्फत सञ्चालन हुने साना योजनालाई निरुत्साहित गर्दै ठूला तथा प्रभावकारी विकास आयोजना अघि बढाउने नीति लिइएको छ। त्यसअनुसार विकास बजेटका विभिन्न शीर्षकहरू समायोजन गरेर कम्तीमा एक करोड रुपैयाँ बराबरका योजना समावेश गर्ने तयारी गरिएको स्रोतको दाबी छ।

प्रदेश सरकारले सीमित स्रोत–साधनलाई ध्यानमा राख्दै आगामी बजेटलाई विकास केन्द्रित, मितव्ययी र परिणाममुखी बनाउने लक्ष्य राखेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय