गत सोमबार भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम भारतमा हैन, नेपालको ठोरी क्षेत्रमा जन्मिएको’ अभिव्यक्ति दिएसँगै नेपाल र भारतमा तीव्र प्रतिक्रिया देखिएको छ । सांस्कृतिक सम्बन्ध, धार्मिक आस्था तथा पुरातात्विक खोजको विषयलाई सत्तास्वार्थका लागि राजनीतिकरण गरेको भन्दै ओलीको आलोचना भएको हो । देशभित्र अत्यन्त न्युनले प्रशंसा, अधिकले त उनको यो अभिव्यक्ति लक्षित आलोचना तथा व्यङ्ग गरेका छन् भने अन्र्तराष्ट्रिय रुपमा समेत प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । भारतीयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मानसिक सन्तुलन गुमाएका छन् भनेर भन्न समेत भ्याए । भारतीय मिडियाले ओली अभिव्यक्तिमाथि अनेक कोणबाट बहस चलाइरहेका छन् । देशमै पनि सामाजिक सन्जाल तथा मिडियामा उनको अभिव्यक्तिप्रति चर्को टिप्पणी भइरहेको छ । देशका केही ठाउँमा धार्मिक संगठनहरुले विरोध प्रदर्शन समेत गरेका छन् । त्यतिमात्र कहाँ हो र, उनकै पार्टीका नेताले त अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्नुपर्ने माग समेत गरेका छन् । यी प्रतिनिधिमुलक प्रतिक्रिया मात्र हुन् ।
देशको प्रधानमन्त्री जस्तो व्यक्तिले धार्मिक आस्थाको पात्र रामबारे बोल्दा तरङ्ग पैदा हुनु स्वभाविक हो । प्रधानमन्त्री ओलीले पनि अध्ययनका आधारमा नै बोलेका होलान् । कुन आधारमा टेकेर उनले बोले, त्यो प्रधानमन्त्री ओलीले प्रष्ट पार्लान । यहाँनेर धारणा प्रस्तुत गर्न खोजिएको मूल कुरो के हो भने प्रधानमन्त्री जस्तो पदमा आसिन व्यक्तिले बोल्दा तथ्य र प्रमाणको आधारमा वा तथ्यसहित बोलेको भए राम्रो हुन्थ्यो । उनले गत हप्ता भारतीय ‘दुतावास आफ्नो सरकार हटाउन सक्रिय भएको’ समेत बताएका थिए । तर ओलीले यो अभिव्यक्तिको पनि न पुष्ट्याई गर्न सके न उनले भनेजस्तो भएको छ । बरु यस्तो अभिव्यक्ति आएपछि उनकै पार्टीका नेताले उनको राजीनामा मागेका छन् ।
भनिन्छ मान्छेको बोली र बन्दुकको गोली कहिले पनि फर्केर आउदैन । जसरी बन्दुकको गोली एकचोटि निस्केपछि फर्किदैन, त्यसरी ने मानिसले पनि एकचोटि बोलेको कुरा फिर्ता लिन असम्भव छ । सामान्यतया, सर्वसाधारणले त बोल्दा त्यसले के असर पर्न सक्छ भन्ने कुरा चेत राखेर मात्र बोल्नुपर्छ भने प्रधानमन्त्रीले बोल्दा त झन् हेक्का राखेर बोलेको राम्रो । बोलेको कुराले के, कस्तो र कहाँ प्रभाव पार्छ भन्ने हेक्का नै नराखी बोलेपछि प्रधानमन्त्री जस्तो व्यक्तिको कद घटेर गएको छ, विश्वसनीयमा ह्रास आएको छ । पछिल्लो पटक प्रधानमन्त्री ओलीले बोलेका कुराले उनको कद घटाएको छ । जसले गर्दा नेपालको मिचिएको भूभाग समेटेर नक्सा प्रकाशित गरेर राष्ट्रिय साथ पाएका प्रधानमन्त्रीको त्यो अडानलाई समेत असर परेको टिप्पणी पनि हुन थालेको छ ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिसँगै भारतसँगको नेपालको सम्बन्धलाई नराम्रो गरी धक्का परेको छ । यो गम्भीर कूटनीतिक विचलन हो । यसै पनि नेपाल–भारत सम्बन्ध इतिहासकै गम्भीर अवस्थामा छ । दुई देशबीच कूटनीतिक संवाद हुनै सकेको छैन । यस्तो अवस्थामा एउटा धार्मिक पात्रलाई अघि सारेर आफ्नो स्वामित्व दाबी गर्ने कामले जनस्तरमा समेत नेपाल–भारत सम्बन्धलाई कमजोर बनाउनेछ । नेपालले राम जन्मभूमि नेपालमा पर्न सक्छ भन्ने तर्क गर्न नपाउने हैन । तर त्यसका लागि बलियो पुरातात्विक खोज गर्नु पर्दछ र प्रमाण प्रष्ट भएपछि मात्र दाबी गर्नु उपयुक्त हुन्छ ।




