नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको मंगलबार ३८ औँ स्मृति दिवस थियो । नेपाली काँग्रेस र त्यसका भातृ संगठनका साथै उहाप्रति आस्थावानले विभिन्न कार्यक्रम गरेर बीपीलाई सम्झिए । इतिहासका दृष्टिकोणले उहाँ स्वर्गवास हुनुभएको धेरै भएको छैन, तर राजनीतिक हिसाबले भने उहाँको व्यक्तित्व र विचारको चर्चा कालान्तरसम्म भइरहनेछ । प्रजातन्त्रका लागि आफ्नो सिंगो जीवन नै समर्पण गर्नुभएका स्वर्गीय बीपी कोइराला नेपालको वर्तमान राजनीतिक रंगमञ्चमा देखिएका सबै खाले राजनीतिक खेलाडीहरु भन्दा पृथक् स्वभावको हुनुहुन्थ्यो ।
बीपीको मृत्युपछि मुलुकमा धेरै परिवर्तनहरु भए । इतिहास र राजनीति पनि यही समयमा चलायमान भयो । देश ठूलो उथलपुथलबाट गुज्रिरह्यो । मुलुकमा देखिएको संकटको समाधानभन्दा समस्या झन्झन् बढ्दै गैइरहेको यो अवस्थामा हरेक नेपालीले अहिल पनि बीपी कोइरालालाई सबैले सम्झिरहेका छन्, जसले कहिल्यै पनि व्यक्तिगत सुख र स्वार्थलाई प्राथमिकता दिनुभएन । जनताका निम्ति उहाँले पुर्याउनुभएको योगदानको स्मरण यतिखेर नेपाली जनताले गरिरहेको हुनुपर्दछ ।
बीपी कोइरालाको मूल लक्ष्य भनेको लोकतन्त्र र समाजवाद हुन् । यी दुवै लक्ष्यबाट मात्र देश र जनताको भलो हुन सक्छ भन्ने मान्यता राख्नुहुने कोइरालाको यो विषयलाई बेवास्ता गरेकै कारण मुलुक संकटमा परेको हो । यो बेवास्ता अरु कसैले होइन, उहाँले नै स्थापना गर्नुभएको पार्टीका कांग्रेसी नेताहरुले नै गरे, जसका कारण कांग्रेस पनि आज घर न घाटको भएको छ ।
राष्ट्रियता पहिलो पक्ष, लोकतन्त्र दोस्रो र समाजवाद तेस्रोमा राखेर सिद्धान्तको प्रतिपादन गर्नुभएका कोइरालाको स्मरण आजको दिन देशविदेशमा रहेका सम्पूर्ण नेपालीजनहरुले गरेको पाइन्छ । बीपी कोइरालाका नाममा धेरैचोटि कांग्रेस सत्तामा पुग्यो, तर बीपीको विचारलाई व्यवहारमा उतार्न सकेन । व्यवहारमा उतार्न नसक्नुमा धेरै कारणहरु त छँदैछन्, त्यसमा प्रमुख कारण भने कांग्रेसभित्रको गुटबन्दी देखियो । कांग्रेसले गुटबन्दीको रोग अन्त्य नगरेसम्म पार्टीले गति लिने कुनै सम्भावना छैन । गुटबन्दीको रोग कांग्रेसका मान्छेमा एड्सजत्तिकै महामारी बनेर फैलिएको छ, जसको उपचार हाललाई त्यति सहज देखिँदैन ।
यहाँ कांग्रेसको सच्चा, इमानदार कार्यकर्ताहरु भएर पार्टीभित्र राजनीति गर्न त्यति सहज छैन, जति कोइराला, पौडेल या देउवा गुटको हुँ भन्दा कार्यकर्ताहरु सहज ठान्दछन् । जबसम्म सच्चा कार्यकर्ताहरुलाई कित्ताकाट गर्ने रोगबाट वञ्चित गर्न सकिँदैन, तबसम्म कांग्रेसले न आफ्नो मुहार फेर्न सक्छ, न त देशको मुहार । सर्वप्रथम कार्यकर्ताले हाम्रो पार्टी भनेर गर्वपूर्वक माया गर्ने पार्टी नबनाएसम्म कांग्रेसलाई कार्यकर्ताले नै माया गर्ने स्थिति छैन भने जनताको माया पाउने कुरा अलि परकै भयो । त्यसैले, साँच्चै नै कांग्रेसलाई बलियो बनाउने हो भने कार्यकर्ताहरुको कुँडिएको मनलाई शान्त बनाउन लाग्नुप¥यो । तेरो र मेरो भन्ने गलत सोचाई मनबाटै हटाउनुपर्यो । कार्यकर्ता दास हुन् र हामी मालिक हौँ भन्ने निकृष्ट चिन्तन नेताहरुले हृदयबाट हटाएको व्यवहारमै देखाउनुप¥यो ।
जुनसुकै कार्यकर्ता पनि नेताहरुको आफ्नो कार्यकर्ता हुनुभन्दा पार्टीको कार्यकर्ता हुने संस्कार नबनेसम्म कांग्रेस फेरि पनि उँभो लाग्ला भन्ने कल्पना अब नगर्दा हुन्छ । कांग्रेसका नेताहरुले तेरो र मेरो भन्ने बिल्ला नभिराइकन सबैलाई समान व्यवहार गरेर गए भने बीपी कोइरालाले सोचेजस्तो कांग्रेस हुन सक्दछ । तर, संस्कारभन्दा सत्तालाई महत्व दिने काँग्रेस नेतृत्वले यस्तो कुरा बुझ्ने प्रयास गर्दैन । संस्कार भविष्यसँग जोडिएको हुन्छ भने सत्ता क्षणिक समयका लागि, तैपनि बुझेर बुझ पचाएपछि कसको के लाग्छ ! उनीहरुका लागि सधैँ सत्ता नै महत्वपूर्ण भयो । त्यसकै कारण थियो, आज काँग्रेस यो अवस्थामा आउनु ।
कुनै बेला पृथ्वीनारायण शाहले प्रजा मोटा भया भने देश बलियो हुन्छ भन्ने उद्गारलाई आज एकथरी मान्छेहरुले त्यो महान् वाणीलाई निरंकुशता र सामन्ती परिभाषा भन्दैछन् । उनीहरुका लागि जनता दुब्लाउने नेता मोटाउने सिद्धान्त प्रगतिशील बन्न पुग्यो । समतामूलक समाजको निर्माण गर्ने महामानव बीपी कोइरालाको सिद्धान्त र दृष्टिकोण अर्काथरीलाई यथास्थितिवादी हुन पुग्यो, जसले निम्न वर्गीय जनतालाई झन् गरिब बनाउँदै छ र माफियाहरुलाई महाजन बनाउने अभियानमा जुटेको छ । त्यो नै यहाँ महान् समाजवादी बन्न पुगेको छ । यो भन्दा बीपीको अपमान अरु के हुन सक्दछ ?
नेपालको राजनीतिमा बीपी नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा पनि नेपालको भूमिका महत्वपूर्ण हुनुपर्दछ भन्ने विचार राख्नुहुन्थ्यो । साना राष्ट्रहरुले पनि विश्व रंगमञ्चमा आफ्ना विचारहरु राख्न सक्छन् भनेर दक्षिण एसियामा नै आफ्नो पहिचान दिने उहाँ नै प्रथम व्यक्ति हुनुहुन्थ्यो । उहाँको चाहना आफ्नो मुलुकजस्तै अन्य साना राष्ट्रहरुको प्रतिस्थापन गरी एउटा सानो संयुक्त शक्तिको निर्माण गरी शक्तिशाली राष्ट्रहरुको मनपरीतन्त्रमाथि नैतिक दबाब दिँदै संयुक्त राष्ट्रसंघका निर्णयहरुमा प्रभावित बन्न सकोस् भन्ने थियो । तर, बीपीका अहिलेका यी अनुयायीहरुले यस्तो विषयतिर ध्यानै दिन चाहँदैनन् या क्षमताले पनि नभ्याएको हो जस्तो लाग्छ ।
अहिले पार्टीमा नयाँ र महत्वपूर्ण विषय भनी छलफल गर्ने परम्परा नै हटिसकेको यो अवस्थामा बहस, छलफल र निर्माण भन्ने विषय नै काँग्रेसको क्यालेन्डरबाट हराएझैँ भएको छ । योग्यता, क्षमता एवम् नीति र नियमका कुरा कुनै सच्चा कार्यकर्ताहरुले उठाए भने शक्ति प्रयोग गरी त्यस्ता विषयहरुलाई निस्तेज बनाइन्छ । काम गर्नेको भन्दा कुरा गर्नेको दर्जा बढ्ने गरेको काँग्रेसमा काम गर्ने कार्यकर्ता पलायन हुँदै गइरहेका छन् ।
आज देशभरि बीपी स्मृति दिवस नेपाली काँग्रेसले सिंगो पार्टीका तर्फबाट त कुन्नि भातृ संस्थाहरुमार्फत राजधानीतिरै गोष्ठीहरु गरेर औपचारिकता पूरा गरेको समाचार तपाई हामीले थाहा पाउने नै छौँ । खाली औपचारिकताकै लागि गर्ने गरेकै कारण काँग्रेस पनि कुनै दिन औपचारिकतामा नै सीमित हुन सक्छ । त्यो एउटा कथामा मात्र परिणत हुन सक्छ– “एकादेशमा नेका नाम गरेको एउटा पार्टी थियो, त्यसका नेताहरु थिए !”




