मानव जीवनलाई खुशी र सन्तुष्टि प्रदान गर्न लागि विश्व विज्ञानले धेरै खोज अन्वेषणहरु गरेको छ । तर पनि मानिसहरु खुशी हुन सकेका छैनन । विश्वका अधिकांश मानिसरु कुनै न कुनै मानसिक समस्या अथवा तनावबाट गुज्रिरहेका छन् । तनावबाट विश्वका नयाँ पुस्ता सबैभन्दा बढी गुज्रिरहेको अवस्था छ । मानव खुशीका लागि यति अविस्कार हुदाँ पनि किन मानव जीवन अहिले पनि दुःख र पिडामा छन् । विश्व हुने नयाँ अविस्कारहरु सबै मानव खुशीकै सेरोफेरोमा हुने गरेको छ । भौतिक विज्ञानले मानिसलाई धेरै थोक खुशीका लागि दिएको छ । तर पनि मानिसहरु किन यति पिडामा छन् ।
पछिल्लो समयमा विश्वमा आत्म हत्याका घटनाहरु डर लाग्दो किसिमले बढी रहेको छ । आत्महत्या दुई भिन्न शब्द ’आत्म’ र ’हत्या’ मिलेर बनेको शब्द हो –आत्महत्या । जसको शाब्दिक अर्थ केलाउँदा ’आत्म’ को अर्थ आफैं स्वयं र ’हत्या’ को अर्थ खत्तम, समाप्त गर्नु हुन्छ । आत्महत्या र आत्महत्या दुरुत्साहनलाई कानुनी रुपमा एक जघन्य अपराध मानिन्छ । धार्मिक दृष्टिमा आत्महत्या गर्ने मानिस सिधै नर्कमा पुग्ने भनाई समाजमा स्थापित छन् । तर मनोवैज्ञानिकहरु आत्महत्या एक प्रकारको मानसिक रोग भन्ने गरेका छन् ।
एक तथ्यांकअनुसार विश्वमा प्रत्येक ४० सकेन्डमा मान्छेले आत्महत्या गर्छन् । आत्महत्या मुख्य कारण आफन्तको मृत्यु, बढ्दो एकल जीवन, वैदेशिक रोजगारका सामाजिक असर, प्रेममा धोका, लागुऔषध, परिक्षामा असफलता, जीवनमा निराशा, बेरोजगारी, क्षणिक आवेग तथा महिला हिंसा रहेको पाइन्छ । समाजले आत्महत्यालाई नकारेको छ । आत्महत्यालाई कायरताको रुपमा लिने गरिएको छ । तर मनोचिकित्सकहरुका अनुसार आत्महत्या भनेको एउटा मनोरोग हो, यसलाई नियन्त्रण गर्न सकिन्छ । जसको लागि सबैभन्दा ठूलो अस्त्र भनेको जनचेतना रहेको छ । नेपाल जस्तो गरिब मुलुकमा आत्महत्या दर निकै उच्च हुनु स्वाभाविक हो । नेपाल दैनिक १५ जनाको हराहारीमा आत्महत्या गर्ने गरेका छन् । नेपाल आत्महत्या गर्ने देशको सूचीमा सातौं स्थानमा र दक्षिण एसियाको दोस्रो स्थानमा छ । नेपालमा पुरुष भन्दा महिलाहरु बढी आत्महत्या गर्ने गरेका छन् ।
मानिसहरु कुनै प्रकार असहनिय पिडा सहन नसकेर मानसिक रोगी हुने गरेको तथा अन्तमा आत्महत्या सम्म गर्ने गरेको छन् । यसरी मृत्युसँग लडेर आमा अमुल्य जीवन प्रदान गरेकोमा मानिस किन यस्तो अमुल्य जीवनलाई नष्ट गर्न पछि पर्दैनन् । यसको खोजी हुनु जरुरी छ । कोरोनाको कारण मानव जीवन माथि नै खतराको बादल छाएको बेला पनि आत्म हत्या गर्नेहरुको संख्यामा कमी नआएको देखिन्छ ।
नेपालमा लक डाउनको ८० दिन मात्र दुई हजार बढी आत्महत्या गरेका छन् । आत्महत्याको तथ्याङ्क डरलाग्दो छ । अतः विश्वका सबै देशले आत्महत्यालाई निरुत्साहित गर्न नितिगत रुपमा काम गर्न तथा सरकारी स्तरमै लगानी गर्न जरुरी रहेको देखिन्छ । जनचेतना तथा मानिसलाई सृजनात्मक काममा लगाउन पाए आत्महत्यामा कमि आउन सक्छ । मानिसलाई गुणस्तरीय जीवन प्रादन गर्नु पर्ने देखिन्छ । त्यसकारण, नेपाल सरकारले नितिगत रुपमा योजना बनाएर काम गर्न सके आत्महत्यालाई निरुत्साहित गर्न सकिन्छ ।




