वीरगन्ज,०१ असार । बाराको महागढीमाई नगरपालिका–गञ्जभवानीपुर क्षेत्रमा अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण हुने भट्टीहरू प्रहरीकै संरक्षणमा सञ्चालन भइरहेको आरोप स्थानीयवासीले लगाएका छन्।
स्थानीयका अनुसार उक्त क्षेत्रमा एक दर्जनभन्दा बढी अवैध मदिरा भट्टीहरू निर्बाध रूपमा चलिरहेका छन्। ती भट्टी सञ्चालनका लागि प्रहरी र व्यवसायीबीच नियमित आर्थिक लेनदेन हुने गरेको उनीहरूको दाबी छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
अवैध मदिरा उत्पादनका कारण बस्तीमा दुर्गन्ध फैलिएको, वातावरण प्रदूषित बनेको र सामाजिक विकृति बढ्दै गएको भन्दै स्थानीयवासी चिन्तित छन्। उनीहरूका अनुसार मदिरा उत्पादनका क्रममा निस्कने धुवाँ र गन्धले दैनिक जनजीवन प्रभावित भएको छ भने युवापुस्तामा कुलत र असुरक्षाको जोखिम समेत बढेको छ।
आरोपबारे प्रतिक्रिया लिन खोज्दा गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रवीण मिश्र सम्पर्कमा आउन चाहेनन्। त्यस्तै, जिल्ला प्रहरी कार्यालय बारा का उच्च अधिकारीसँग पनि धारणा लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेन।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी अवैध मदिरा उत्पादनमा संलग्नमाथि कडा कारबाही गर्न र प्रहरीमाथि लागेको आरोपको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।




