गत बिहीबार जिल्ला प्रशासन कार्यालय पर्साले बिरामीहरुको स्वास्थ्यप्रति गम्भीर बन्न भन्दै निजी अस्पतालहरुको हकमा आदेश जारी गर्याे । जिल्लाका विभिन्न निजी अस्पतालहरुमा उपचारका लागि गएका बिरामीहरुलाई चेकजाँच र उपचार नै नगरी फर्काउने गरेको गुनासो आएकाले अब उपरान्त बिरामीको चेकजाँच नगरे कारवाही हुने निर्णय प्रशासनबाट सार्वजनिक भयो ।
संयोगवश, त्यही दिन अर्थात बिहीबार, साउन २२ गते बीरगन्जस्थित नेशनल मेडिकल कलेजको मुलगेटमै एक जना बिरामीको मृत्यु हुन्छ । स्वास्थ्यमा समस्या आएपछि पिसिआर रिर्पोट नेगेटिभ भएको प्रमाणसहित बीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका ६० वर्षीय चलितर महतोलाई मेडिकल कलेज लगिन्छ । तर, मेडिकल कलेजले भर्ना लिन नमानेपछि उपचारका लागि कुर्दाकुर्दै उनले कलेजको गेटमै प्राण त्याग्छन् ।
बिहान मात्र उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने निर्णय गरेको प्रशासनले घटनाबारे यर्थाथ जानकारी गराउन कलेजलाई ३ दिनको म्याद सहित पत्र पठाउँछ । ३ दिन सम्पन्न भईसक्यो । प्रशासनले कारवाही गर्याे ? गरेन ? कसैलाई अत्तोपत्तो छैन ।
यो घटना सेलाउन नपाउँदै शुक्रबार फेरि नेशनलले उपचार गर्न नमान्दा अर्का एक व्यक्तिको पनि ज्यान जान्छ । बीरगन्ज–३ का वडा अध्यक्ष वैजु स्वर्णकारका अनुसार बिरामीलाई ४,५ दिन ज्वरो आएपनि ज्वरो ठीक भइसकेको थियो । तर साउन २२ गते राति उनलाई अचानक सास लिन गाह्रो भयो । एडभान्स अस्पतालको इमर्जेन्सीमा भर्ना गरियो ।
आसियुमा राखेर उपचार गर्नुपर्ने भएका कारण उनलाई नेशनल मेडिकल कलेज पठाइयो ।
एम्बुलेन्स नपाएपछि अटोमा राखेर बिरामीलाई नेशनल मेडिकल कलेज पु¥याइयो । तर नेशनल मेडिकल कलेजले भर्ना गर्न मानेन ।
नेशनलले यस्तो बिरामीका लागि कुनै व्यवस्था छैन भनेर अटोबाटै बिरामीलाई फर्काएको वडा अध्यक्ष स्वर्णकार बताउँछन् ।
अफसोच, मृत्यु पश्चात उनमा संक्रमण पुष्टि भयो र प्रशासनले केही बोलेन ।
प्रशासनले बिहीबार मात्रै सबै निजी अस्पताललाई तुरुन्त आईसोलेसन स्थापना गर्न आदेश दिएको थियो । तर, आदेश कुुनै अस्पतालमा कार्यान्वयन भएको छैन ।
त्यही दिन, शुक्रबार राति उपचार नपाएरै पर्सामा फेरि दुई जनाको ज्यान जान्छ ।
श्वासप्रश्वासमा समस्या भएकी २० वर्षिय युवतीलाई त बीरगन्जका कुनै अस्पतालले आधारभुत स्वास्थ्य सेवा पनि दिएनन् । निजी अस्पतालले उपचार गरेन । नारायणीमा पनि उपचार गरिएन । एड्भान्सबाट सुरु भएको उनको उपचार प्राप्तिको यात्रा बयोधा, तराई अस्पताल, भवानी , नेशनल मेडिकल, नारायणी , बीरगन्ज हेल्थ केयर हुँदै गण्डक पुगेर राति २ बजेर १२ मा अन्त्य भयो । नारायणीले बिरामीलाई तुरुन्त अक्सिजन दिनुपर्छ भन्ने सल्लाह दियो । तर, अक्सिजन दिईएन । सायद, अक्सिजभन्दा सस्ताे सल्लाह थियाे, हाेला । अन्ततः उनको पनि ज्यान गयो ।
त्यही राति पिसिआर नेगेटिभको प्रमाण पत्रका साथ हृदयघात भएकी एक महिला पनि उपचारका लागि बीरगन्जको हरेक अस्पताल पुगिन् । तर, उपचार भेटिएन । अन्ततः उनको पनि मृत्यु भयो ।
भोलिपल्ट बिहान शनिबार पनि उपचार नपाएर एक युवकको ज्यान गयो ।
उपचार नपाएर आफ्नी २० वर्षिय छोरी बितेको विरुद्धमा आफ्न्तजनले आईतबार प्रदर्शन गरे । नारायणी अस्पतालमा पार्किंग गरि राखिएको गाडीको सिसा फुट्यो । प्रदर्शन गर्न आएको भीडमा आक्रोश थियो । आक्रोश सिस्टमप्रति । अस्पतालहरुले भन्ने प्रोटोकल प्रति । उपचारका लागि अस्पताल ल्याउन नपाउँदै मृत्यु भएको भए, सायद कसैले केही बोल्दैाथ्यो होला ।
तर, अस्पताल, स्वास्थ्यकर्मी र उपचारका लागि भौतारिँदा भौतारिँदै अटोमै ज्यान जानु भनेको त यो सिस्टमको असफलता हो । मान्छे मार्ने प्रोटोकल हो ।
झन्, प्रशासनले कारवाहीका लागि पहल नै नगर्नु त कायरता भन्दा कम होईन होला नि ? संकटकालको अवस्थामा पनि नेपालको संविधानको धारा १६ मा उल्लेखित प्रत्येक व्यक्तिको सम्मानपूर्वक बस्न पाउने हक र धारा ३५ मा उल्लेखित प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक निलम्बन गर्न नसकिने संवैधानिक व्यवस्था छ । तर, अस्पतालवालाहरुले यो व्यवस्थाको त फिटिक्कै कदर गरेको देखिदैन । सामुदायिक अस्पतालको अवस्था पनि उस्तै छ । नारायणीमा पनि उपचार हाल सम्भव छैन ।
खैर, प्रदर्शनका क्रममा एउटा गाडीको सिसा फुट्यो । गाडीपछि गएर चिकित्सकको रहेछ भन्ने विषय प्रकाशमा आयो । उपचार नपाएर मृत्यु भएको विरूद्ध नबोल्नेहरुले चिकित्सकको गाडीको सिसा फुटाएछन् भन्दै सामाजिक सञ्जालमा पोष्ट्याउन भ्याए । कतिले विज्ञप्ति नै जारी गरे ।
हो, फुटाउनु हुँदैन्थ्यो । ती चिकित्सकले वास्तवमा समाजका लागि अत्यधिक काम गरेका छन् ।
तर, डाक्टरको गाडीको सिसा मात्र फुटेछ, कतिको अमुल्य जिवन फुट्यो यो कुरा गौण हो ? समयमा उपचार नपाएर कतिको अनाहकमा ज्यान गयो । आईतबार बीरगन्जमा भएको प्रदर्शनले यहाँका वास्तवीक स्वास्थ्य प्रणालीको अवस्था चित्रण गर्छ । निषेधाज्ञा तोडेर प्रदर्शन गरियो, सार्वजनिक सम्पत्तिमा ढुंगामुढा गरियो भन्दै प्रहरीले प्रदर्शनकारीलाई लखेट्यो । केही बेरका लागि दबाइएको विरोध र न्याय प्राप्तिको त्यो आवाजलाई कहिले सम्म दबाईनेछ ? नागरिकले तिरेको करबाट चलेको अस्पतालले नागरिककै स्वास्थ्य उपचार नगर्दा ज्यान गुमाउनु पर्दाको पिडा महशुस भएको छ कि छैन ?
चिकित्सकको गाडीको सिसाको लागि वकालत गर्दै हिँडिरहेकाहरुले टुहुरो भएकी एक बालिकाको वेदना बुझेका छन् ? ती बालिकाले अब उपरान्त आमा भन्न पाउँदिनन् ।
अस्पताल प्रशासन, नियमनकारी निकाय र सरकारको लापरवाहीको विरुद्धको आवाजमा सबैको समर्थन आवश्यक छ । चिकित्सकको गाडीको सिसा फुट्नु कुनै ठुलो विवादको विषय होईन । त्यो फेरि मर्मत गर्न सकिन्छ । तर, गएको ज्यान फिर्ता ल्याउन सकिन्छ ?
सीमामा युद्धका बेला गोलीबाट डराएर सेना भागे भने के हुन्छ ? यो युद्धभन्दा कम्तिको अवस्था हो ?
उपचारका लागि नल्याएको भए मृत्यु हुन्थ्यो होला । तर, अस्पताल वेदनामा छट्पाइरहेकालाई उपचार गर्दिन भन्नु र अस्पतालको गेटमै मृत्यु हुनु । यो मृत्यु नै हो कि हत्या ? हत्या हो भने जिम्मेवार को ?
यस्ता लापरवाह अस्पतालहरुको गैरजिम्मेवार रवैया र बदमासीलाई कारवाही गर्न प्रशासनसँग यथेष्ट प्रमाण छ । तर, कारवाही गर्न सकिएको छैन ।