बीरगन्ज, १२ असोज – पर्सामा कोरोनाभाइरसका बिरामीको उपचारमा पटकपटक लापरवाही भईरहे पनि प्रशासन मुकदर्शक बनेको छ । कोरोनाका बिरामीहरुको उपचारमा यहाँका अस्पताल तथा चिकित्सकहरुको गैरजिम्मेवारी तथा लापरवाहीका कारण बिरामीको ज्यानै गएपनि प्रशासनले कारवाहीका लागि कुनै पहल गर्न सकेको छैन ।
अस्पताल तथा चिकित्सकहरूकाे लापरवाहीकाे खुल्ला प्रदर्शन भइरहेपनि कारवाहीकाे सट्टा प्रशासन निरिह बन्नु लज्जास्पद भएकाे यहाँका विज्ञहरूकाे भनाइ छ । संकटकालको अवस्थामा पनि नेपालको संविधानको धारा १६ मा उल्लेखित प्रत्येक व्यक्तिको सम्मानपूर्वक बस्न पाउने हक र धारा ३५ मा उल्लेखित प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक निलम्बन गर्न नसकिने संवैधानिक व्यवस्था छ । तर, अस्पतालवालाहरुले यो व्यवस्थाको त फिटिक्कै कदर गरेको देखिदैन ।
कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा उपचाररत रहेको बिरामी अक्सिजनको अभावमा ज्यान गुमाउँछ, तर प्रशासन केही नभएझैँ चुप्प लागेर बस्छ । गत भदौ १२ गते बीरगन्जस्थित गण्डक कोभिड अस्पतालान भर्ना भएकी किरण देविको अक्सिजन अभावमा ज्यान गयो ।
किरण देवि उपचाररत गण्डक अस्पतालको आईसोलेसनमा उनी अक्सिजनका लागि तड्पिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो । गण्डक अस्पतालमा बिरामीहरुको विजोग भएको खबर पाएपनि प्रशासनको मौनता र अस्पताल तथा चिकित्सकको लापरवाहीका कारण अन्ततः किरण देविको मृत्यु भएको विज्ञहरुको भनाई छ ।
“समयमा अक्सिजन पनि दिइएको भए किरण देविको ज्यान बचाउन सकिन्थ्यो”, एक चिकित्सक भन्छन्, “न समयमा अक्सिजन दिए, न उपचार नै गरे, लापरवाहीका कारण नै मृत्यु भएको हो उनको ।”
किरण देविका मृत्युको अघिल्लो साँझ नै उनको कोरोना रिपोर्ट नेगेटिभ आईसकेको थियो । बीरगन्जमा उपचारका नाममा लापरवाही भईरहेको खबर पटकपटक सार्वजनिक भईरहँदा पनि प्रशासनको मौनताका कारण यहाँ अकालमै बिरामीहरु ज्यान गुमाउन बाध्य भएका छन् ।
तारे होटेलमा बसेर सुखःशैलका बिच समय बिताईरहेका यहाँका चिकित्सकहरुको गैर जिम्मेवारीका कारण बीरगन्जमा उपचारका नाममा लापरवाहीले प्रश्रय पाईरहेको छ । स्थानियहरुका अनुसार बीरगन्जमा कोरोनाको उपचारमा संलग्न चिकित्सकहरु आपसी कुटपिट, मिडिया, राजनिती र सस्तो प्रचारबाजीमा व्यस्त भएका कारण बिरामीहरुको वास्ता नगरेका हुन् ।
यता बीरगन्जमा काेराेना अस्पतालले एक गर्भवती संक्रमित महिलाकाे उपचार गर्न नमानेकाे विषय प्रकाशमा आएकाे छ । कोरोना अस्पतालले उपचार गर्न नमानेपछि कोरोना संक्रमित गर्भवतिको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । बीरगन्ज रामगढवाकी २६ वर्षीया महिला उपचारका लागि विभिन्न अस्पताल धाउँदा पनि कसैले उपचार गर्न नमानेको पीडित पक्षले बताएका छन् ।
ती महिलालालाई यहि असाेज १० गते शनिबार अचानक स्वासप्रश्वासमा समस्या देखिनुका साथै हल्का ज्वरो र खोकी लागेको थियो । त्यसपछि तुरुन्तै नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरेको र अपरान्ह ४ बजेतिर पोजिटिभ रिपोर्ट आएको थियो ।
लगतै नारायणी अस्पतालले नेसनल मेडिकल कलेज कोभिड अस्पताल जान भन्यो । तर त्यहाँ अस्पतालले उपचारन गर्न मानेन । गर्भवती महिला संक्रमित हुँदा पनि नेसनल मेडिकल कलेजले स्थापना गरेको बाबा आइसोलेसनमा राख्न नमानेको बताइएको छ । अहिले आफन्तले घरमै बिरामी लगेर राखेका छन् । सुत्केरी हुने दिन नजिकिँदै गर्दा अस्पताल लैजानुपर्नेमा उल्टै संक्रमित भएकै कारण घरमा ल्याएर राख्नु पर्दा आफन्त चिन्तित छन् ।
सामान्य अवस्था भएको भए घरमै राख्दा डर हुने थिएन । तर उनको स्वास्थ्य अवस्था राम्रो छैन । शनिबार रातिदेखि अक्सिजन दिइएको छ । १५ हजार रुपैयाँ धरौटी राखेर आफन्तले घरमै अक्सिजनको बन्दोबस्ती मिलाएका हुन् । सबैतिर हारगुहार गर्दा अस्पतालले राख्न नमानेपछि घरमै ल्याएर राख्नुपरेको संक्रमितका दाजु दिनेश पण्डितले गुनासो गरे ।
यसबारे नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सा डा. असरफ हुसैनले भने मृगौला रोगी, गर्भवती तथा सुत्केरी संक्रमितलाई राख्ने व्यवस्था नभएको बताए । सम्झौता गर्दा नै यस्ता बिरामी नराख्ने भनी प्रष्ट लेखिएको उनले बताए ।
काेराेनका बिरामीहरूकाे उपचारका लागि सञ्चालनमा आएका काेराेना अस्पतालहरूले बिरामीकाे उपचार नगर्दा बिरामीहरूकाे विचल्ली भएकाे छ । सुत्केरी अवस्थामा रहेकी ती महिलाकाे स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेकाे परिवारजनले बताएका छन् ।
उपचार अभावमा सुत्केरी महिलाकाे ज्यान जाने हाे भने जिम्मेवार काे ?
यहाँका अस्पतालहरूकाे लापरवाही चरम उत्कर्षमा रहेका बेला प्रशासनकाे माैनताले यस्ता मेडिकल माफियाहरूलाइ प्राेत्साहन गरेकाे सराेकारवालाहरूकाे भनाइ छ ।
पर्सामा नयाँ प्रमुख जिल्ला अधिकारीकाे आगमन भएपनि शासन व्यवस्थामा कुनै सुधार आएकाे छैन ।

