नेपाल–भारत सीमा खुलाउन माग गर्दै बीरगन्जमा स्थानीय नागरिक अगुवाहरुले धर्ना र प्रदर्शन गरिरहेका छन् । सीमा बन्द रहेका कारण मानिसहरुको जनजीवनमा कठिनाई भएको भन्दै उनीहरुले साविक इनर्वा नाकामा रहेको बीरगन्ज भन्सार कार्यालय अगाडि दैनिक धर्ना दिदैं आएका छन् । पछिल्लो पटक सरकारले अन्तर्राष्ट्रिय सीमा नाका एक महिना अझै बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले मंसिर ३० गतेसम्मलाई सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । २०७६ चैत ११ गतेदेखि देशमा लकडाउन गरेयता सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्दै आएको छ ।
छठ पश्चात सीमा नाका खुल्ने भरमा परेका सिमानाकाका स्थानीयहरु सीमा नाका बन्द लम्बिएपछि अहिले तनावमा छन् । कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले विभिन्न सेवा र क्षेत्रमा लगाएको प्रतिबन्ध फुकुवा गरे पनि सीमामा लगाएको बन्देज भने कायमै राखेको छ । अन्र्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध पनि हटिसकेको छ । तर सबै क्षेत्र र सेवामा लागेको बन्देज हटेर सामान्यीकरणतर्फ उन्मुख भइरहे पनि सीमामा लगाइएको बन्देज यथावत् छ । यसले कोरोना कहरले पिल्सिएका स्थानीयहरु भने थप मारमा परेका छन् ।
लामो समयदेखि सीमा नाका बन्द हुदाँ वारिपारि नाता सम्बन्ध रहेका सर्वसाधारणको आउजाउ विगत ८ महिनादेखि बन्द छ । वैवाहिक सिजन सुरु भएकोमा यसको प्रत्यक्ष प्रभाव परेको छ । सामाजिक साँस्कृतिक कार्य गर्न बाधा भइरहेको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरु अध्ययनका लागि भारत जान पाएका छन् । औषधी उपचारको लागि यताका मानिस उता र उताका मानिस यता आउनु पर्ने जस्ता सामाजिक आवश्यक्ता सर्वसाधारणले टारिरहेका छन् । त्यस्तै, व्यापार व्यवसायमा पनि सीमानाका बन्द हुनुले बाधा परेको देखिन्छ । उद्योगहरुमा कतिपय प्राविधिक जनशक्ति भारतबाट मगाउने बाध्यता छ । मेसिनहरुको मेन्टिनेन्सका लागि भारतीय कम्पनीका मानिसहरुको आउजाउ गर्ने गर्दछन् । यस्तोमा सीमा बन्द रहेकोले उद्योगहरुले समस्या झेलिरहेका छन् । लामो समयदेखि सीमा नाका सिल भएका कारण स्थानीयस्तरमा हजारौँ नागरिक प्रभावित भई गरिबी, भोकमरी र व्यापक बेरोजगारी बढेको तथ्यलाई नकार्न सकिदैंन । समग्रमा, नेपाल भारत सीमा बन्द हुँदा दुवैतर्फका मानिसहरुलाई कठिनाइ परेको छ ।
त्यसो त, भारतले भने एकतर्फी रुपमा बन्द सीमा नाका खोलिसकेको छ । हुन त, दुवै देशका सीमा नाका बन्द हुँदा पनि अवैध रुपमा आउजाउ र सामान ओसारपसार हुने गरेकै थियो । चोर बाटोबाट, सीमामा तैनाथ प्रहरीलाई नजराना बुझाएर सामान ओसारपसार भईरहेको र मानिस आउजाउ गरिरहेको समाचार सन्चारमाध्यममा आएकै हुन् । अहिले नेपालले मात्र सीमा नाका बन्द गरेर राखेको अवस्थामा, त्यस्तो अवैध आउजाउ ह्वारह्वार्ती बढेको छ । अनि, यो सँगै अवैध आउजाउलाई प्रहरी लगायत सिमानामा बस्ने कतिपयले कमाई खाने अवसर बनाएका छन् । अवैध रुपमा सामान ओसारपसार हुदाँ कर छलिदाँ देशको राजस्वमा ह्रास उत्पन्न भइहरको छ भने चोरबाटो हुँदै आउजाउ गर्ने स्थानीयले अनावश्यक रुपमा प्रहरीलाई पैसा बुझाउनु परेको पिडा छ । हुन त, पछिल्लो समय मुल नाकाबाटै अनौपचारिक पैदल आवातजावत गर्न दिनको लागि प्रशासनले केही लचकता अपनाएको छ । तर जुन उद्देश्यको लागि सीमा नाका बन्द गरेर सबै क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो, वर्तमान अवस्थामा सबै क्षेत्रको बन्देज हटिसकेको परिस्थिति, सबै क्षेत्र पूर्ववत अवस्थामा फर्किसकेको अवस्था तथा वैध वा अवैध जुन रुपमा भएपनि मानिसहरुको आवतजावत गरिरहेको कुरालाई दृष्टिगत गर्दा सीमा बन्द गरिराख्नुको कुनै औचित्य देखिएन । बरु, निश्चित मापदण्ड पूरा गरी कोरोना भाइरस परीक्षण डेस्क र सुरक्षा जाँच सञ्चालनमा ल्याई सीमा नाका खोल्नु नै औचित्यपूर्ण हुन्छ ।




