सन्दर्भ : ३३ औं विश्व एड्स दिवस !

spot_img

‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ मंगलबार ३३ औं विश्व एड्स दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईएको छ ।

हरेक वर्षको डिसेम्बर १ मा यो दिवस मनाईने गरिन्छ । यो दिवसको दिन एचआईभी एड्सको बारेमा खुब चर्चा परिचर्चा गर्ने गरिन्छ । अझ, यो दिवसमा एचआईभीको क्षेत्रमा काम गर्ने संघसंस्थाहरु त, निकै ठुलो तामझामका साथ विभिन्न कार्यक्रमनै गर्ने गर्दछन् । यस्तै, तामझाम बीरगन्जमा हरेक वर्ष डिसेम्वर १ मा देखिन्छ । सचेतनामुलक कार्यक्रम भन्दै बीरगन्जको मुख्य चौकमा घण्टाघरबाट  र्‍याली निकाल्ने र भेला भएर सहभागीहरु खुब उपदेश दिने गर्दछन् । यसमा सबै भन्दा बढी एचआईभीको क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्थाका पदाधिकारीहरु मज्जाले गर्जिने गर्दछन् । एचआईभी संक्रमितहरुको यो अधिकार हो, त्यो अधिकार हो भन्दै ।

तर वास्तविक एचआईभी संक्रमितहरुलाई भने उनीहरुले मज्जाले प्रयोग गरेर विदेशी डोनरहरुको मन र ध्यान तानिरहेका हुन्छन् । मोटाउने तिनै सामाजिक संघसंस्थाका पदाधिकारीहरु हुन् । तर वास्तविक एचआईभी संक्रमितहरु भने उही पिडा, उही भेदभावले संघर्षपुर्ण तरिकाले समाजमा जीवन बिताईरहेका हुन्छन् ।

वास्तवमै भन्ने हो भने एचआईभी संक्रमितहरु आफुमा संक्रमण भयो भने पोषिलो खानेकुरा खानुपर्छ र आफ्नो स्वास्थ्यको नियमित परिक्षण गर्नुपर्छ भन्ने थाहा हुँदा हुँदै पनि यसो गर्न आर्थिक अवस्था र समाजको डरले गर्न सकिरहेका छैनन् । संक्रमितले आफ्नो प्रतिरोधक क्षमता बढाउन खानुपर्ने एआरटी औषधीमा समेत संक्रमितको पहुँच पुग्न सकिरहेको छैन । यसले गर्दा एचआईभीको नाममा यो विषयमा काम गर्ने संघसंस्था र पदाधिकारी मोटाउने बाहेक केही उपलब्धी देखिदैंन ।

साँच्चै, एचआईभी संक्रमितको अधिकारको कुरा गर्ने हो भने संक्रमितहरुले भोगिरहेको पिडालाई सम्बोधन गर्ने खालको कार्यक्रमहरु गर्नुपर्‍यो । जहाँ संक्रमित भएकै कारण समाज र परिवारबाट हेयको दृष्टिले हेरिएका हुन्छन्, त्यस्ताहरु सम्म पुगेर एचआईभी एड्सको बारेमा त्यो समाज र परिवारलाई बुझाउनुपर्छ । अनि एचआईभी संक्रमणको दर कसरी घटाउने भन्ने विषयमा जनचेतनामुलक कार्यक्रमहरु समुदाय स्तरसम्म पुगेर गर्नुपर्‍यो । असुरक्षित यौन सम्बन्ध र साझा सुईको प्रयोगबाट बढी संक्रमित संख्या बढिरहेको तथ्याङकले देखाउँछ ।

यस्तो कुरालाई मध्यनजर गरी विभिन्न कार्यक्रमहरु गर्नुपर्छ । यदि यसो भएन भने हरेक डिसेम्बर १ मा र्‍याली र भाषणमा मात्रै सिमित हुनेछन्, एचआईभी संक्रमितका कुराहरु । त्यसैले, संक्रमितहरुले पनि आफ्नो हक अधिकारलाई सही रुपमा कसरी सदुपयोग गर्ने र राज्यले दिने सेवा सुविधा कसरी लिन सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । यदि यसो भएन भने एनजिओ आईएनजीओलाई पोसाउने बाहेक अरु केही उपलब्धि हासिल हुन सक्ने छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय