सामाजिक परिवर्तन तथा सामाजिक जागरणको लागि देशमा विभिन्न खालमा अभियानहरु चलाईन्छ । अभियानले धेरै परिवर्तनहरु ल्याएको इतिहास हामी माझ रहेको छ । चाहे त्यो राजनीतिक परिवर्तनको लागि चलाइएको अभियान होस् अथवा सामाजिक रुपान्तरणका लागि चलाइएको सचेतनामूलक कार्यक्रम नै किन नहोस्, अभियानबाट शिक्षा, स्वास्थ्य तथा राजनीतिक परिवर्तनदेखि समाजिक रुपान्तरणसम्म भएको थुपै्र उदाहरण रहेका छन् । प्रदेश २ को सरकारले बेटी बचाऊ बेटी पढाउ तथा स्वच्छता अभियान सरकारी स्तरमै संचालन गरिरहेकोछ । जसको समय समयमा सराहना पनि हुने गरेको छ । अभियानबाट प्राप्त हुने उपलब्धि पछि देखिने भए पनि यसलाई राम्रो सुरुवातको रुपमा लिन सकिन्छ ।
बीरगन्ज र यहाँको जनजीवन तथा परिचयसँग जोडिएको श्रीसिया नदी सर सफाईको कुरा पनि बेला बखत उठ्ने गरेको छ । विश्व नै वातावरणीय परिवर्तनको मार झेलिरहेको बेलामा बीरगन्ज पनि त्यसबाट अछुतो रहन सकेको छैन । हामीले कति सम्म प्राकृतिक संसाधनको दोहन तथा दुरुपयोग तथा फोहर गरेका छौं । त्यो कालान्तरमा स्वच्छ रहेको श्रीसिया नदीको हालत हाल हेरेर अनुमान लगाउन सक्छौं । जब धर्तीमा प्राकृतिक स्रोत विनास दोहन तथा दुरुपयोग भएको अवस्थामा प्राकृतिक विपत्ता आएकै इतिहास छ । एक बीरगन्जबासीका लागि जनजीवनसँग जोडिएको श्रीसिया नदी मानविय प्रदुषणको चपेटा परेको छ र फोहरका थुप्रोहरुले नदीको मुहान बन्द भएको अवस्था छ ।
अवस्था यस्तो छ कि श्रीसिया नदीलाई सफा गर्न ठूलो अभियानको खाँचो छ । श्रीसिया नदी सरसफाईको अभियान पुरानो भए पनि अभियान मुर्त रुप लिन सकिरहेको छैन । स्थानीय सरकारको तर्फबाट सो नदीलाई सफा, स्वच्छ र पुरानो लयमा फर्काउन कुनै कानुन बनेको तथा ठोस पहलकदमी भएको छैन । तर पनि पछिल्लो समयमा केही युवाहरुले अभियान नै चलाएर श्रीसिया नदी सरसफाईको अभियान चलाएका छन् । ती युवाहरुको अभियान सलाम योग्य छ । तर घन्टाघरमा हुने गरेको अभियानहरु जस्तै उनीहरु ठूलो संख्या अथवा समूहमा छैनन । वातावरण जिउने आधार समूहका युवा अभियान्ताहरु हरेक शनिबार एका बिहानै श्रीसिया नदीको फोहरका थुप्रोहरु हटाईरहेका देखिन्छन् । तर त्यही छेऊमा रहेका आमसर्वसाधारणहरु टुलुटुलु हेरेर बसेको दृश्यहरु देख्न सकिन्छ ।
अभियानमा न भिआइपीहरुको उपस्थिति रहन्छ, न त पत्रकारहरुको हुल । आधा दर्जनको समूहमा रहेका युवाहरु हातमा पन्जा लगाएर नदीमा रहेका फोहरका थुप्रोहरु हटाइरहेका हुन्छन् । अभियानले धेरै परिवर्तनहरु ल्याएको दाबी गर्दै यी युवाहरु यो अभियानले आन्दोलनको रुप लिने आशा व्यक्त गर्दछन् । उनीहरुको यो अभियान ७ औं हप्तामा पनि जारी छ । भोलि ठूलो विपदा तथा चरम पानीको संकटबाट बीरगन्जबासीलाई श्रीसिया नदीले नै बचाउने ती युवाहरुको दाबी छ । तर हाम्रो लागि र बीरगन्जको लागि भइरहेको अभियानमा बीरगन्जेली सहभागी हुन हिच्किच्याई रहेका छन् । बीरगन्ज नगरको पानीको लेयर दिन प्रतिदिन घट्दो अवस्थामा रहेको छ । नदी पर श्वास लिने अवस्थामा छैन । नदीका हजारौ जीवहरुको जीवन संकटमा परेको छ । त्यति मात्र नभई, बीरगन्जबासीले हरेक वर्ष बाढीको मार खेपि रहेका छन् । तर पनि अभियानप्रति बीरगन्जबासी गम्भीर छैनन् ।
अभियान बीरगन्जको लागि भइरहेको हो । यसलाई कुनै व्यक्ति विषेशको अभियान नमानेर सबै एक जुट भएर यो अभियानलाई सफल पार्न जरुरी छ । नत्र भोलि, श्रीसिया नदी नरहे बीरगन्जबासीलाई ठूलो मोल चुकाउनु पर्ने हुन सक्छ । अतः युवाहरु हाम्रो लागि सुरु गरेको श्रीसिया नदी सरसफाईको अभियानलाई गम्भीर रुपमा लिने पर्ने अहिलेको आवश्यकता छ । घन्टाघरमा देखाउनका लागि अभियानहरुको नाममा फोटो खिचाउनु भन्दा श्रीसिया नदी सरसफाईको अभियानमा जुट्नु टड्कारो आवश्यकता हो । नेताको पछि लागेर समय खर्च गर्नु भन्दा आफ्नो समाजको लागि बीरगन्जबासीको लागि भईरहेको श्रीसिया सफाई अभियानमा जुट्नु पर्ने अहिलेको मुल अवश्यकता रहेको प्रष्ट देखिन्छ । अभियान जारी छ, यस अभियानमा सबै जना जुटौं ।




