हरेक वर्ष डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी इतिहासलाई स्मरण गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको अन्तर्राष्ट्रिय महत्वको ऐतिहासिक दिवसको दिन हो, डिसेम्बर १० । यो दिनले सम्पूर्ण मानव जातिलाई आधारभूत मानव अधिकारप्रति सचेत गराउँछ र अधिकार प्राप्तिका लागि आवाज उठाउन प्रेरित गर्दछ । यसकै आधारमा बिना कुनै भेद्भाव मानवलाई सशक्त बनाउँछ, बन्धुत्वको भावना जागृत गराउँछ र द्वन्द्वलाई रोकेर शान्ति स्थापनामा मद्दत पु¥याउँछ ।
यसकै सहायताले मात्र शिक्षा, स्वास्थ्य, यात्रा, व्यापार लगायतको उपभोग र सेवाको सुनिश्चितता सम्भव छ । यसैले प्रत्येक मानवले जन्मिँदै प्राप्त गरेका अधिकारहरुको उपयोग गर्दै बन्धुत्व, प्रेम, सद्भाव र सहिष्णु भावको विकास गर्न सहयोग गर्छ । मानिसलाई जीवनयापन गर्न आधारभूत अधिकारको आवश्यकता हुन्छ । त्यस्ता आधारभूत अधिकार मानव जीवनको मर्यादा, स्वतन्त्रता र स्वाभिमानसँग जोडिएका हुन्छन् । विश्वका करोडौं प्राणीहरुमध्ये मानव श्रेष्ठ प्राणी हो भन्ने आधार पनि त्यही हो । त्यसैले विश्वमा मानव अधिकारलाई प्रमुखताका साथ हेरिन्छ र त्यसको पालनाका लागि अनेक सभा, सम्मेलन, गोष्ठीहरुका माध्यमबाट प्राप्त निष्कर्षलाई सन्धिका रुपमा अनुमोदन गरिन्छ ।
सबै देश, धर्म र संस्कृतिका आम नागरिकका लागि बिना भेदभाव आधारभूत नैतिक मान्यताका आधारमा प्रत्याभूत गरिएको अधिकार नै मानव अधिकार हो । हरेक व्यक्तिलाई आफ्नो जीवन स्वतन्त्र रुपमा बाँच्ने र त्यसमा बिस्तारको खोजी गर्ने अवसर हुनु पर्छ, चाहे जुनसुकै वर्ग, क्षेत्र वा समुदायसँग उसको सम्बन्ध होस् । यही मान्यताको आधारमा मानव अधिकारको जग बसेको छ । मानिस भएर जन्मिएपछि वा जन्मने क्रममै एक व्यक्तिले पाउनु पर्ने अधिकारको वकालत र सुनिश्चितताका लागि पहल गर्ने उद्देश्यसहित हरेक वर्ष मानव अधिकार दिवस मनाउने गरिन्छ ।
यो वर्ष ‘समानता, न्याय र मानव अस्तित्वका लागि उभिउँ’ भन्ने अवधारणका साथ दिवस दिवस मनाइएको छ । मानवअधिकार रक्षाको क्षेत्रमा ‘माइल स्टोन’ मानिएको यो घोषणा पत्र जारी भएको सोमाबार ७० वर्ष पुगेको छ । छालाको रंग, समाजमा प्रचलित जाति व्यवस्था, वर्ग, धर्म, यौनिकता, लिंग, भाषा, राजनीतिक विचारधारा, राष्ट्रिय तथा सामाजिक उत्पति, जन्म र हैसियतका आधारमा कुनै पनि व्यक्तिमाथि विभेद गर्नु हुँदैन र सबै मानिसको अधिकार मानव भएर उत्कृष्ट जीवन बाँच्न पाउने अधिकार रहेको छ भन्ने अवधारणा घोषणा पत्रमा छ ।
यो घोषणा पत्र अहिले पाँच सय भन्दा बढी भाषामा उपलब्ध रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । सामाजिक न्याय र सामूहिक अस्तित्वको वकालत गर्ने भएकाले मानव अधिकार सबैको चासो र सरोकारको विषय बन्नु पर्छ । मानवअधिकारसँग जोडिएका विभिन्न विषयहरु अहिले विश्वव्यापी रुपमा अपनाइएको दीगो विकास लक्ष्यमा पनि समाविष्ट छ । नेपालमा पनि राजनीतिक परिवर्तन र त्यसले सुनिश्चित गरेका संवैधानिक अधिकारको कुरामा बलियो अवस्थामा छ । तर त्यसको कार्यान्वयन र वास्तविक न्याय वा मानवअधिकारको अवस्थामा भने अझै सुधार आउन सकेको छैन । पछिल्लो समय बढ्दै गएको यौनजन्य हिंसा र हत्या तथा द्वन्द्वका पीडितहरुले अझै न्याय पाउन सकेका छैनन् ।
यस्तै अरु सामाजिक न्यायका कुरामा पनि समस्या देखिएको छ । निर्मला पन्तसहित बलात्कार पीडितले न्याय नपाउनु तथा युद्धका पीडितहरुको न्यायका लागि गरिएको ढिलासुस्ती नेपालको न्याय र मानवअधिकारको क्षेत्रमा कमजोर पक्ष बनेका छन् । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडित अझै न्यायको खोजीमा छन् । आज विश्व कोभिड–१९ को प्रभावमा परेको छ । यसले विश्वका मानव जातिमा जीवन रक्षाको त्रास खडा गरेको छ । त्यसैले, मानव अधिकारका आधारशिलाहरु पनि कमजोर बनिएका छन् ।
त्यसलाई रोक्न सरकारहरुले अख्तियार गरेको प्रावधानले हिँडडुल गर्न, पढ्न, घुम्न लगायतका अधिकारको उपभोग गर्न पाइएको छैन । त्यसैगरी, अहिले मानवीयता, नैतिक मूल्य र मान्यता स्खलित भइरहेको छ । बालिकादेखि वृद्धासम्म शारीरिक शोषणमा पर्दैछन्, कतै आर्थिक कारणले दबिएका छन् कतै धर्म, लिङ्ग र भाषाका आधारमा विभेद भइरहेको छ । विश्वभर कतै सत्ताका लागि सशस्त्र द्वन्द्व भइरहेका छन्, द्वन्द्वकै चपेटामा कैयौंको मानव अधिकार हनन् भएको छ, पीडितले न्याय पाएको छैन, पीडक सत्ताको सुख भोगिरहेको छ । अपराधी र दोषीहरुलाई शासन हातमा लिनेहरुले नै संरक्षण दिइरहेका छन् । कमजोर वर्ग झन् कमजोर बन्दैछ । यस्तोमा मानव अधिकार दिवसले आफूलाई चिन्ने र सशक्त बन्ने प्रेरणा दिओस् ।

