रिक्सामै वित्यो रोज महम्मदको जवानी, परिवार पाल्न ३५ वर्षदेखि रिक्सा नै सहारा

spot_img

सुर्य नारायण वि.क.
(शुभचिन्तक)

वीरगञ्ज ।  कुरा आजभन्दा ३५ वर्ष अघिको हो । अहिलेको जस्तो उकुस मुकुस हुने गरी आलिशान बंगलाहरुले भरिएको थिएन वीरगञ्ज । २०४०/०४२ सालतिर फर्कँदा वीरगञ्ज शुनशान अनि शान्त थियो । न कुनै कर्कस लाग्दो सडकमा हिँड्ने सवारीको आवाज थियो न त मानिसहरुको भिड नै ।
थियो त केवल स–साना पक्कि घरका साथै शहर भनिएको बीचमा ठडिएको घण्टाघर । घण्टाघर त्यो बेलादेखिकै निशानी थियो । घण्टघार मस्तिष्कमा आज पनि ताजै छ ।
घण्टाघरलाई आधार मान्दा त्यहाँबाट झण्डै आधा घण्टाजति पश्चिमतर्फ पैदल यात्रा गरेर घर पुुगिन्थ्यो ।
त्यसबेला रामगढवा गाउँ (देहात वस्ति) नै थियो । त्यही बस्ति (देहात)मा हुर्किए रोज महम्मद अन्सारी ।
२०२२ सालमा जन्मिएको भन्ने बाहेक आमाबाबुले पनि महिना गते भनेनन् । त्यसैले उनलाई कुन दिन जन्मिएँ भन्ने थाहै छैन । अहिले जस्तो जन्मोत्सव मनाउने बेला पनि त त्यो समयमा थिएन । जन्मोत्सव नै मनाउने जस्तो आर्थिक हैसियत पनि अन्सारीको परिवारको थिएन । त्यही भएर परिवारले पनि जन्मेको साल बाहेक तिथी मिति याद गरेनन् होला भन्ने लाग्छ अन्सारीलाई ।
परिवारको आर्थिक अवस्था पनि कमजोर अनि त्यो समयको चलन पनि त्यस्तै भएर होला १५ वर्षमै अन्सारीको बिहे भयो ।
घर परिवारले बिहे त गरिदिए तर बिहे गरिसकेपछि अंसारीको काँधमा जिम्मेवारी पनि बढेर आयो ।
एक त परिवारको आर्थिक अवस्था कमजोर अर्कोमा एकबाट दुई भइसकेपछि परिवार पाल्नु पर्ने जिम्मेवारीले अंसारीलाई पिरोल्न थाल्यो ।
बिहे लगत्तै कामको खोजि गर्न थाले । पढाई पनि ३ कक्षा मात्रै । पढाई राम्रो नहुँदा काम पनि राम्रो पाउन गाह्रो । जसो तसो चिनेकै साथीको सहारामा रिक्सा चलाउने काम हात प¥यो । १५/१६ बर्षे लक्का जवानीमै रिक्सा तान्न सुरु गरेका अन्सारीलाई जवानीले साथ छाड्दै जाँदा पनि रिक्साले भने अहिलेसम्म साथ दिइरहेको छ ।
साहुसँग दैनिक १० रुपैयाँ बुझाउने गरी भाडामा रिक्सा लिएर बजार निस्कन्थे अन्सारी । उनले पहिलो दिन ५ जनालाई रिक्सामा डुलाएबापत ५० रुपैयाँ कमाए । साहुलाई १० रुपैयाँ बुझाए पनि आफूलाई ४० रुपैयाँ कमाई भयो । यही नै उनको पहिलो कमाई थियो ।
त्यही दिनदेखि रिक्सा चालकको पहिचान पाएका अन्सारीको पहिचान अहिले पनि फेरिएको छैन ।
अहिले कमाई अंकमा केही फेरिएको छ । तर महंगीको हिसाबमा त त्यो बेला भन्दा अहिलेको कमाई अझ थोरै जस्तो लाग्ने गरेको उनी सुनाउछन् ।
दिनको ५० रुपैयाँ कमाई गर्ने अन्सारीको कमाई अहिले झण्डै ३५ वर्षपछि पनि ५० को पछाडि एउटा शुन्य मात्रै थपिएको छ । अर्थात अहिले उनले दैनिक कम्तिमा ५ सय रुपैयाँसम्म कमाउँछन् । कहिलेकाँही अपवादमा ६ देखी ७ सयसम्म पनि कमाई हुने गरेको अन्सारी सम्झन्छन् ।
रिक्सा चलाउँदा चलाउँदै उनले विभिन्न खाले राजनीतिक परिवर्तन हेरे । २०४६ को जनआन्दोलनले पंचायती शासन ढालेको देखि २०६२/०६३ को आन्दोलनले राजतन्त्र फालेर गणतन्त्र ल्याएको सम्म उनले रिक्सै चलाएर हेरे । कतिपय दिन त उनी आफैँ पनि ती आन्दोलनमा सामेल थिए ।
आँखै अघि आएका त्यस्ता राजनीतिक परिवर्तनले पनि उनको जीवनमा कुनै रंग छर्ने परिवर्तन ल्याउन सकेन ।
रिक्साबाट सुरु भएको जीन्दगीको संघर्ष अहिले पनि रिक्सासँगै चलिरहेको छ ।
वीरगञ्जको पावरहाउस चोक, इनर्वा, भन्सार, आदर्शनगर, बिर्ता क्षेत्रको गल्ली गल्ली याद छ अन्सारीलाई । झण्डै ३५ वर्षे यो अवधिमा यस क्षेत्रका हजारौँलाई आफ्नो रिक्सामा यीनले डुलाई सकेका छन् ।
३५ वर्षसम्म एउटै पेशा, त्यो पनि रिक्सा चलाउने । रिक्सा चलाउने पेशा उनका लागि कुनै सरकारी जागिर झै बनिदिएको छ । अन्सारीले रिक्सा चलाउन छाड्न नखोजेका पनि होइनन् । तर छाडेर पनि के गर्ने भन्ने चिन्ताले उनले रिक्सा चलाउने काम छाड्न सकेका छैनन् ।
एक बाट दुई हुँदा रिक्सा चलाउन सुरु गरेका उनको परिवार अहिले बढेर ९ जनामा पुगेको छ । ४ छोरा र ३ छोरीका पिता बनेका छन् अन्सारी ।
‘सन्तान त भगवानले दिएको उपहार हो’, मुस्कान छाड्दै उनी भन्छन्, ‘भगवानले दिएपछि त स्वीकार्नै प¥यो नि ।
झण्डै ७ महिना लामो लकडाउनले कुनै पनि क्षेत्र प्रभावहिन छैन । अन्सारीको परिवार कसरी अछुतो रहन सक्थ्यो र ?
हुन त उद्योगी, व्यापारी, जागिरे जस्ता हुने खाने परिवार प्रभावित भइरहेको अवस्थामा हुँदा खाने परिवारको अवस्था कस्तो भयो होला सहजै अनुमान लगाउन सकिन्छ । रिक्सा चलाएर कमाएको कमाईबाटै गुजारा चलाउने उनको परिवार रिक्सा नै चलाउन नपाएपछि भोकमरीको चपेटामा परेको उनि सुनाउँछन् । आँखामा टिलपिल आँसु चुहाउँदै अन्सारीले भने, ‘कोरोना महामारी के कारण अहिसन भी वखत आइल, जब खुदे भुके पेट रह के बाल बच्चा ला कुछ जोगाड करत रहनी, माकीर कुछ दिन अहिसन भी आइल जब बाल बच्चा तक ले ला भी कुछ बेवास्ता ना होके, तब अपना आप के बाब कहे में धिक्कार लागे
अर्थात ‘कोरोना महामारीका कारण यस्तो पनि अवस्था आयो, आफु भोकै भएपनि छोराछोरीको पेट जसो तसो भर्नुपर्ने बाध्यता । कहिले छोराछोरीको लागी केही व्यवस्था गर्न नसक्दा आफुलाई बुबा हुनुमा धिक्कार लाग्थ्यो ।’
खाद्यान्नको अभाव र छोरा छोरी बिरामी पर्दा बाध्य भएर रिक्सा निकाली बजारमा निस्किएका अन्सारीले प्रहरीबाट लाठी खानुपरेको दुखेसो पोखे ।
रिक्सा चलाएरै जसोतसो गुजारा चलाएका अन्सारीको दैनिकी कोभिड १९ ले यति कष्टकर बनायो की उनी अहिले त्यो कहालिलाग्दो क्षण सम्झिन पनि चाहन्नन् ।
हुन त यो अवस्थामा अन्सारीको मात्रै नभएर दैनिक ज्यालादारी गरेर हातमुखको जोहो गर्ने सबैको दैनिकी नराम्रोसँग प्रभावित भएको सबैलाई अवगत नै छ ।
स्थानीय सरकारले राहतको नाममा १ पटक १० केजी र १ पटक ५ केजी गरेर १५ केजी चामलले केहीदिन भएपनि पेट पालेको उनि बताउँछन् ।
श्रीमती नैतुन नेशा घरायसी काममै व्यस्त हुने गर्छिन् । खाना पकाउने, छोराछोरीको हेरचाह गर्ने लगायतका काममै दैनिकी वित्ने गरेको छ, नेशाको ।
अब बिस्तारै पहिलेको जस्तै सामान्य अवस्थामा फर्किदै गर्दा उनि खुशीमुद्रामा देखिन्छन् । अब फेरी पनि मास्क लगाएरै उनि रिक्सा चलाउदै यात्रुहरुलाई ओहोर दोहोर गराउँछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय