बिहिबार, फाल्गुन २०, २०७७

15 C
Kathmandu
18.8 C
Birgunj

जीवन कठिन छ, बेल्वामा…

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

यात्रा संस्मरण

- Advertisement -

खुब फुर्तीका साथ बनाइएका योजनाहरु एक पछि अर्को गर्दै विफल हुँदै गएपछि अचेल योजना बनाउन थोरै समय खर्चिन थालेको छु । बरु, अपरझट् बनेका योजनाहरु सकेसम्म छिटो तमाम पार्नतर्फ लाग्छु । धेरै समय र धेरै आशा बोकेर बनाइएका योजनाहरु अक्सर मुकामसम्म नपुग्दै विफल हुन्छन् । योजनाहरु पनि सपना जस्तै त हुन् । पुरा नहुँदा मन खिन्न पार्ने ।

- Advertisement -Trulli

यस्तै अपरझट् बनाइएका योजनाहरुले हो मलाई सोमबार बेल्वा पु¥याएको । आईतबारको चिया गफमा भेट भएका मित्रहरु सोमबार राहत लिएर गाउँतिर जाँदै थिए । मलाई पनि सँग हिँडन् भने । नाई भन्नै सकिन । अचेल असाध्यै फुर्सदिलो भएकोले होला, जहाँ मन लाग्छ, त्यही हिँड्दिने ग¥या छु । मनमौजी जस्तै ।

सोमबार बिहानको ११ बजेसम्म मौसम खुलिसकेको थिएन । जहाँसम्म दृष्टि त्यहाँसम्म कुहिरो । लाग्थ्यो, कुहिरोको एक मुस्लोले हामीलाई पछ्याईरहेको छ । लाग्थ्यो, पर–परसम्म कोही पनि छैन । अनि एक्कासी बगलबाट गुज्रिन्थ्यो, पहेँलो बत्तीसहितको मोटरवाला साईकिल त केही बिना बत्ती बिना मोटरवाला साईकिल ।

बीरगन्जको उदयपुरघुर्मीमा साथीको घर थियो, त्यही खाना खाने योजना बनाएर हामी हिँडेका थियौँ । यसअघि अन्य स्थानमा बाँडेर १२ परिवारको लागि मात्रै बचेको राहत सामाग्री अनलाईन खबरमा सुरेश बिडारीले लेख्नुभएको बेल्वाको ब्यथा पढेर त्यहाँको यात्रामा निस्किएका थियौँ ।

लालपर्सा पुग्दासम्म बिहानको १२ः३० बजिसकेको थियो । मौसम बिस्तारै सफा हुँदैथ्यो । अब जहाँसम्म दृष्टि त्यहाँसम्म तोरीका बालाहरु देखिन थालिइसकेका थिए । गहँुसँगै लगाइएका तोरीका पहेँला बालाहरुले खेतलाई पहेलैँ रंगमा रंगी दिएका थिए । तोरीका बालाहरुको बीचमा उभिएर शाहरुख खानको दिलवाले पोजमा तस्वीर खिच्न पनि मन कहाँ नलागेको हो र ?

लगभग १ बजेर ९ मिनेटमा हामी बेल्वा पुग्यौ । मौसम खुलेर घाम लागिसकेको थियो । घाम लागे पनि पश्चिम दिशाबाट पूर्वतिर बगेको चिसो हावाको सिरेटोले, मौसम चिसै थियो ।

चिसोबाट जोगिन आफु न्यानो कपडाहरु लगाएर गएको थियो ।

तर, बेल्वाको दृश्य भने फरक थियो । केही बेरमै हामीलाई बालबालिकाहरुले घेरिसकेका थिए । कोही अपरिचित व्यक्तिको आगमन हुने बित्तिकै त्यो बस्तीका बासिन्दामा केही आश पलाउँथ्यो सायद । हामीले त्यस्तै आभाष ग¥यौँ ।
चिसोबाट जोगिन कसैलाई खासै पिर परेको थिएन । न्यानो कपडाहरु त परै जाओस्, बालबालिकाहरुको शरीर पूर्ण रुपमा ढाकिएको पनि थिएन ।

भर्खरै सकिएको माघे संक्रान्तिमा बनाइएको लड्डु हातमा लिएर बालकहरु मस्त थिए । न चिसोको पिर, न घामको आनन्द ।

परालले बनाएको घरमा बेल्वाका स्थानीयहरुको बसोबास छ । शरीर ढाक्न, न न्यानो कपडा नै छ, न राति ओढ्ने नै छ । वर्षायाममा अत्याधिक वर्षाले ल्याउने बाढीको पिर, चिसोमा चिसोबाट कसरी जोगिने भन्ने चिन्ता र गर्मीमा रोगहरुको पिर ।
स्थानीय उमापती देवीले गाउँ देखाउँदै भनिन्, हेर्नुस् गरिबको बस्ती, वर्षायाममा बाढीले भत्किएका घर हुन् यी, जसोतसो टालटुल पारेर बसेका छांै । उनले भनिन्, चिसोले एकदम गाह्रो भएको छ, हजुर ।

उमापतीका ४ जना छोरा छन् । सबै स्थानिय सामुदायिक विद्यालयमा पढ्ने गर्छन् । उनको जेठो छोरा सामुदायिक विद्यालयको ७ कक्षामा पढ्थ्यो । तर, घर खर्च टार्नै मुस्किल परेपछि हाल ऊ काम गर्दैछ ।
उमापतीलाई सरकारको विश्वास लाग्दैन, अरे । उनी भन्छिन्, हाम्रा नाममा आउने राहत माथि–माथि नै सखाप पारिदिन्छन्,

हामीलाई केही थाहा नै हुँदैन, आक्रोशित हुँदै उनी भन्छिन्, हामी सरकारका मान्छे नै होईनौ ।

उनको सरकारप्रतिको आक्रोश जायज छ । नहुनु पनि कसरी ? दलितहरुको सामुदायिक उत्थान तथा विकासको मुद्दालाई आधार बनाउँदै चुनाव जित्नेहरुले, वाचा जो पुरा गर्दैनन् ।

चुनावका समयमा आउँछन्, चिल्ला चिल्ला कुरा गर्छन्, भोट माग्छन्, एक स्थानीय जेष्ठ नागरिकले भने, चुनाव पछि त कहाँ हराए, कहाँ ?

बेल्वामा भेटिएका सबै पात्रका आ–आफ्ना कथा छन् ।
आफुहरुको पिडा कसैले बुझ्न नसकेको स्थानीय सविता देवीले बताईन् । उनी भन्छिन् समस्या सबैले सोध्छन्, तर, समाधान कसैले गर्दैनन् ।

“नेता, समाजसेवी, पत्रकार सबै आउँछन् । समस्या सोध्छन् । फोटो खिच्छन् । र, गईहाल्छन् ।”, सविता भन्छिन्,“फोटो खिचेर गएकाहरु फेरी फर्किएर आउँदैनन् ।”

सहयोगापेक्षी उनी भन्छिन्,“धनीका लागि सबै छन्, हाम्रा लागि कोही छैनन् ।”

बेल्वामा समस्याहरुको आइरो छ । तर, समाधानका लागि कसैको ध्यान पुग्न सकेको छैन । वर्षायाममा गाउँमा बाढी पस्दा घरका सबै सामान बगाउने गरेको स्थानीयहरुको गुनासो छ । बाढीका बेला आफुहरु घर छोडेर त्रिपाल मुनी बास बस्नुपर्ने अनुभव सुनाउँछन्, बेल्वाका स्थानीय ।

चिसोका कारण हाल बेल्वामा जनजीवन अत्यन्तै कष्टकर छ । चिसोले कष्टकर बनाएको बेल्वालाई न्यानो बनाउन स्थानीय सरकारको पहल शुन्य छ ।

बेल्वा गाउँमा मात्रै ४२ परिवार दलित माझी मुसहर समुदाय बसोबास गर्छन् । अधिकांशको आर्थिक अवस्था कमजोर छ । ज्याला मजदुरी र जंगलबाट दाउरा ल्याएर जीवीकोपार्जन गर्दै आएका छन् । ज्यालामा जम्मा ५ किलो धान मिल्ने गरेको उनीहरु बताउँछन् ।
बेल्वामा अथाह समस्याहरुका बीच बाँचेको छ, जीवन । जीवन कठिन छ, बेल्वामा ।

 

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -