बीरगन्ज २३ फागुन । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट पर्सामा पनि सुरु भएको छ । दोस्रो चरणमा पर्सामा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटेका ४५ हजार जनालाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु गरिएकाे थियो र प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको खाेप अभियान सुरु गरिएकाे छ ।
फ्रन्टलाइनर चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल तथा नर्सिङ होमका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरुले पहिलो चरणमा खोप लगाइसकेका छन् ।
पर्सामा पहिलो चरणमा ९ हजार ६०१ जनाले खोप लगाइसकेका छन् । १ प्रतिशत मात्रै खोप खेर गएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार १४ वटा पालिकामध्ये आइतबारदेखि २६ गतेसम्म र २८ गतेदेखि चैत २ गतेसम्म ७–७ वटा पालिकामा खोप अभियान सञ्चालन हुनेछ । पालिका अन्तर्गत रहेका सबै स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र स्थापना गरिएको छ ।
२६ गतेसम्म पर्सागढी र पोखरिया नगरपालिका, सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर, जिराभवानी र ठोरी गाउँपालिकामा अभियान सञ्चालन हुनेछ । ३७ वटा खोप केन्द्रमार्फत यी ७ पालिकाका १८ हजार जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक अनिल सिंहले जानकारी दिए ।
पोष्टर पम्पलेटहरु अझै नआइपुग्दा प्रचारप्रसारमा कठिनाइ
‘हामीले प्रचारप्रसार स्थानीय एफएममार्फत गरिरहेका छौं । महिला स्वास्थ्य स्वयं सेविकाले घर–घरमा पुगेर पनि खबर गर्छन्,’ ‘तर पोष्टर पम्पलेटहरु अझै नआइपुगेकाले वितरण गर्न पाएको छैन ।’उनले बताए।
नागरिकत नभएकालाई वडाध्यक्षको सिफारिसमा खोप लगाइने
बीरगन्ज महानगरपालिका लगायत बाँकी ७ पालिकामा २८ गतेदेखि ५३ वटा खोप केन्द्रमार्फत खोप लगाइनेछ । नागरिकता प्रमाणपत्र नभएकालाई वडाध्यक्षको सिफारिसमा खोप लगाउने तर भारतीय नागरिकलाई खोप नलगाउने निर्देशन माथिल्लो निकायबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले सीमित स्रोत साधनको प्रयोगबाट खोपलाई सुरक्षित रुपमा खोप केन्द्र लैजानुपर्ने भएकोले दुई चरणमा अभियान सञ्चालन गर्न लागिएको बताए । पहिलो चरणमा छुटेकाले पायक पर्ने स्थानमा गएर खोप लगाउन सक्ने बताए ।
साइड इफेक्ट
‘साइड इफेक्ट कस्तो आउने हो भनेर पहिलो चरणमा अस्पताल केन्द्रित खोप केन्द्र सञ्चालन गरिएको थियो । ठोरी लगायत ग्रामीण क्षेत्रबाट स्वास्थ्य स्वयंसेविकाहरु बीरगन्ज आउँन सकेनन्,’ उनले भने, ‘पहिलो चरणमा छुटेकाले पनि दोस्रो चरणमा खोप लगाउन सक्छन् ।’
ज्वरो आउने, जीउ दुख्ने, वाकवाकी लाग्ने जस्ता सामान्य असर अधिकांशमा देखिने भन्दै उनले त्यसबाट आत्तिन नपर्ने बताए ।
सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप दिँदै आएको छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको ‘कोभिशिल्ड’ खोपको पहिलो डोज लिएको आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनुपर्दछ ।

