पछिल्लो समयमा नेपाली राजनीतिको चक्र जुन हिसाबले परिवर्तन भएको रहेको हेर्न लायकको छ । लगभग दुई तिहाईको हाराहारीमा बहुमतमा रहेको सरकारका प्रधानमन्त्री आफ्नै पार्टीको विवादका कारण संसद भङ्ग गर्न पुगे र त्यसपछि सिर्जना भएको राजनितिक संकट अहिले पनि साम्य भएको अवस्था छैन ।
संसद पुर्नस्थापना तथा नेपाल कम्युनिष्ट पार्टीको अवसानले फेरि अर्को खाले राजनितिक संकट सिर्जना गरेको छ । तत्कालिन नेकपा एमाले तथा माओवादी केन्द्रको एकता नै अवैध रहेको सर्वोच्चको फैसला आएसँगै साम्य हुन लागेको राजनितिक संकटले अर्को मोड लिएको छ । अदालतको निर्णयले दुवै पार्टीलाई पुरानै अवस्थामा फर्काइ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार फेरि संकटमा परेको छ ।
राजनितिक समिकरण बदलिएको छ । प्रचण्ड आफनै पुरानो पार्टीमा पर्किएका छन् भने माधव–झलनाथ आफ्नै पार्टीमा फर्किएका छन् । यो जोड घटाऊ, कम्युनिष्ट भित्रको विवाद तथा दलिय खिचातानीले नेपाली जनताको स्थिर सरकार र विकासमा फड्को मार्ने सपनामाथि कुठाराघात भएको छ । पूर्ण बलिदानी तथा आन्दोलनबाट प्राप्त उपलब्धिहरु माथि मानांै कुनै राक्षस रुपी दानवको हमला भएको छ । एकातर्फ सरकार बचाउने दौडधुप छ, त अर्कोतर्फ नयाँ सरकारको प्रयास दुवै जोडतोडका साथ चलिरहेको छ । तर यस बीचमा जनताको लागि काम गर्ने नेताहरु टुकी बालेर खोज्नु पर्ने अवस्था देखिएको छ । जो कोहीलाई पनि सरकारमै जान हतारो रहेको देखिन्छ । सरकारमा भएकाहरुले सरकार छोड्नै चाहेका छैनन् । यस्तो अवस्थामा देशको के हुने हो, कसरी सही निकास दिने हो ? कसैलाई मानौं चिन्ता नै छैन ।
जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको हार भयो, प्रधानमन्त्री कमजोर हुने धेरै अपेक्षा गरेका थिए । तर ओली झनै आक्रोश मुद्रामा देखिएका छन् । मानांै करारा हार भएको बेलामा पनि प्रधानमन्त्री ओलीले उत्सव मनाइरहेका छन् । सत्ताको लोभीहरु सत्ता प्राप्तिका लागि भवरा जस्तै डुलिरहेका छन् । को कहाँ केमा यतिखेर भुलिरहेका छन्, अनुमान लगाउन गाह्रो रहेको छ । यी सब गतिविधि हेर्दाखेरि देशका नेताहरुले नैतिकता गुमाइ सकेको प्रष्ट भएको छ । जनताले पछि त्यसको जवाफ आफ्नो अभिमत दिने छन् । यसमा कुनै शंका छैन । तर हालको लागि देशको विकास कानुन निर्माण लगायतका महत्वपूर्ण काम कारवाहीहरु रोकिने पक्का छ । देशमा अराजकता बढ्ने खतरा उत्पन्न भएको छ । भ्रष्टाचारमा डुबेको देश, झनै दलदलमा फस्ने संकेत देखिएको छ । अतः नेताहरु भन्दा पनि देशका बुद्धिजिवीहरु एक ढिक्का हुन जरुरी रहेको देखिन्छ । देश बचाउन अब नागरिक स्तरबाटै कामहरु हुनुपर्ने देखिन्छ । आम नेपाली जनता अब सजग र थप सचेत हुने बेला आइसकेको छ ।
नेताहरु माथि अब विश्वास गर्ने वातावरण नरहेको कारण नागरिक अगुवाहरुले देशलाई सही बाटोमा डो¥याउन भुमिका खेल्नु पर्ने बेला आएको छ । देशका संवैधानिक निकायहरु अब राजनीति भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुपर्ने बेला आएको छ । देशलाई सरकार बिहिन हुनबाट जोगाउन तथा द्वन्दमा जानबाट रोक्न तथा असफल हुनबाट जोगाउन सबै नेपाली सत्यको पक्षमा उभिन जरुरी रहेको छ । अब देश जोगाउन जनस्तरबाटै दबाब जरुरी छ ।

