नेपाल पत्रकार महासंघका २६ औं अधिवेशनबाट जिल्लादेखि केन्द्रसम्मको नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका बुधबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बुधबार सम्पन्न भएको निर्वाचनको अधिकांश ठाउँमा साँझैबाट शुरु भएकाले अधिकांश जिल्लाको छिनोफानो भईसकेको छ भने केही प्रदेशमा पनि नेतृत्वको टुङ्गो लागिसकेको छ । नेपाल पत्रकार महासंघ पर्साको नेतृत्वमा अनुप तिवारीको नेतृत्वमा प्यानल नै विजयी भएको छ भने बारामा भने प्रेस युनियनका रेशम तिवारीले नेतृत्वको बाजी मारेका छन् ।
पत्रकार महासंघले नयाँ नेतृत्व पाएसँगै अब यो नेतृत्वले नयाँ जग बसाल्नेछ भन्ने आश पत्रकार वृत्तमा छ । नयाँ नेतृत्वले विभिन्न सञ्चरमाध्यममा कार्यरत रहेर पत्रकार महासंघलाई आफ्नो साझा चौतारी ठान्दै आएका पत्रकारहरुलाई महासंघले अपनत्व बोध गराउन आवश्यक छ । केवल विभिन्न पार्टी र विचारधारासँग आस्थावान भएकाहरुलाई मात्र विशेष ग्राहयता दिदंै आएको महासंघले आम सञ्चारकर्मीहरुको पहिचान गर्नुको विकल्प छैन । राजनीतिभन्दा टाढा रहेर समाजको ऐना बन्ने पत्रकारले राजनीति पार्टीको खोल ओढ्नु दुःखद होईन भन्न सकिन्न । आफुलाई राजनीतिसँग कोशांै टाढा राखेर समाजका घटनाहरुलाई समाचार बनाउदंै आएका पत्रकाहरुको संरक्षण गर्नु पनि महासंघको उत्तरदायित्व हो । क्रियाशिल भन्दा पनि आफ्ना नजिकका मान्छेहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नु महासंघले त्याग्नु आवश्यक छ ।
निर्वाचन अघि गरेको वाचा र प्रतिबद्धता पुरा गर्दै स्वतन्त्र रहेर पत्रकारिता गर्दै आएकाहरुको संरक्षण गर्नुपर्छ र महासंघ उनीहरुको पनि हो भन्ने अपनत्वबोध गराउन सक्नु नयाँ नेतृत्वको चुनौतीको विषय हो । यतिमात्र होइन, महासंघमा आबद्ध भएका र महासंघको छातामुनि अटाउन नसकेका क्रियाशिल पत्रकारहरुलाई समेट्दैं उनीहरुको क्षमता अभिवृद्धि गराउनेदेखि लिएर हरेक सुखदुखमा साथ दिन सक्नुपर्ने जिम्मेवारी पनि नयाँ नेतृत्वसामु छ । यस्तैगरी, जितको उन्मादमा नमात्तिकन निर्वाचन ताका प्रतिद्वन्दी खेमामा उभिएका सहकर्मी पत्रकारहरुलाई पनि सँगसँगै काँधमा काँध मिलाएर पर्सामा धुल्मिलिएको पत्रकार र पत्रकारिता क्षेत्रको छवि परिवर्तन गर्नुपर्ने मुख्य चुनौतिबाट नयाँ नेतृत्व विमुख नहोस्, सबैको ध्यान अब त्यातिर केन्द्रित भएको छ ।
चुनौतिका चाङहरु थुप्रै छन् । तथापि, नेपाल पत्रकार महासंघमा क्रियाशिल, अनुभवी, युवा र जुझारु नेतृत्व निर्वाचित भएको छ । युवालाई यसै पनि हरेक परिवर्तनका संवाहकको रुपमा चित्रित गरिन्छ । निर्वाचित नयाँ युवा नेतृत्व, पदाधिकारी र कार्यसमितिले स्वतन्त्र भई हरेक कदम अघि बढाउदैं परिवर्तित दृष्यको पर्दारोपण गर्नेछ भन्ने अपेक्षा सबैमा छ । भएन भने, यसपाली जित हासिल गरेका पदाधिकारी र नेतृत्व हाँक्ने पनि रबर स्ट्याम्पको रुपमा चित्रित हुनेछन् । कार्यकालको अन्त्यमा, पोहोरपरारका वर्षहरुमा जस्तै पद ओगट्ने र महासंघमा एउटा अर्को फोटो झुण्ड्याउने मात्र कार्य यो कार्यसमिति भयो भन्ने समीक्षा गर्नु नपरोस्
।
सबैलाई अपनत्व बोध गराउँदै, सबैको बन्न सकोस् महासंघ । निर्वाचित सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाईका सार्थ सफल कार्यकालको शुभकामना ।

